गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । नेपालमा पहिलो पटक मङ्कीपक्स (एमपक्स) को जिन सिक्वेन्सिङ परीक्षण सम्भव भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक एमपक्सको जिन सिक्वेन्सिङ गरिएको हो । प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले यसअघि एमपक्सको जिन सिक्वेन्सिङ गर्न थाइल्यान्ड पठाउनुपरेको बताउनुभयो ।
केही समयअघि नेपालमा विदेशबाट आएका दुई नेपालीमा एमपक्स देखिएको थियो । “उक्त एमपक्स कुन प्रजातिको हो भनेर जिन सिक्वेन्सिङका लागि विदेश पठाइएकोमा अब नेपालमै सिक्वेन्सिङ गर्न सफल भयौँ,” निर्देशक डा. भट्टले भन्नुभयो, “कुन प्रजातिको एमपक्स हो र त्यसको ओरिजिनल (उत्पत्ति) कहाँ हो भनेर पत्ता लगाउन जिन सिक्वेन्सिङ गरिन्छ ।” जिन सिक्वेन्सिङ गर्दा उपचार गर्ने प्रविधिसमेत पत्ता लाग्छ ।
मङ्कीपक्सको प्रकार पत्ता लगाउनका लागि विदेश पठाउनुपर्ने थियो । निर्देशक डा. भट्टले नेपालमा पुष्टि भएको मङ्कीपक्स खतरनाक नदेखिएको बताउनुभयो । नेपालमा पत्ता लगाएको प्रजाति ‘एमपक्स क्लेड २ बी’ रहेको थियो । यो १ ‘ए’ को तुलनामा कम आक्रामक हुने गर्छ । ‘क्लेड १ ‘ए’ अफ्रिकामा बढी पाइएको छ भने भारतमा दुवै प्रकारको प्रजाति देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले नेपालमै पहिलो पटक मङ्कीपक्सको जिन सिक्वेन्सिङ सम्भव भएको जानकारी दिनुभयो । उहाँले मङ्कीपक्सको जिन सिक्वेन्सिङ हालसम्म नेपालमा गर्न नसकिएको भन्दै पहिलो पटक टेकुस्थित प्रयोगशालामा सम्भव भएको बताउनुभयो ।
उहाँले नेपालमा जिन सिक्वेन्सिङको परीक्षणपश्चात् विदेशको प्रयोगशालाको नतिजासँग भिडाउँदा शतप्रतिशत नतिजा आएको बताउनुभयो ।
एक पटक जिन सिक्वेन्सिङ गर्नका लागि लाखौँ खर्च हुने गर्छ । टेकुस्थित प्रयोगशालामा साउदीबाट आएका युवकको मङ्कीपक्स परीक्षण पिसिआर विधिबाट गर्दा पोजेटिभ देखिएको थियो ।