• २६ माघ २०८१, शनिबार

शिक्षक छनोट स्तरीय बनाउन सुझाव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । सामुदायिक विद्यालयका लागि गरिने शिक्षक छनोट प्रक्रियालाई अझै स्तरीय बनाउन विज्ञहरूले सुझाव दिनुभएको छ । शिक्षक सेवा आयोगको वार्षिकोत्सवका अवसरमा सानोठिमी भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँहरूले शिक्षक छनोट प्रक्रिया पारदर्शी रहे पनि समय अनुसार छनोट प्रक्रियामा परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । 

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले शिक्षक छनोट गर्दा सैद्धान्तिक ज्ञानको साथै सम्बन्धित उम्मेदवारको व्यक्तित्व र विषयगत ज्ञानलाई पनि जोड दिनुपर्ने बताउनुभयो । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा लेखनाथ शर्माले समाजमा ज्ञानको ज्योति फैलाउने पहिलो व्यक्ति शिक्षक भएका कारण छनोट प्रक्रियालाई चुस्त बनाउनुपर्ने बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. विश्वबाबु पुडासैनीले शिक्षण पेसालाई आकर्षक पेसा बनाउन शिक्षक छनोट प्रणालीमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । 

आयोगले शिक्षा ऐन–२०२८ तथा शिक्षक सेवा आयोग निमायवली– २०५७ अनुसार कार्य गर्दै आएको छ । आयोगमा हाल एक जना अध्यक्ष तथा दुई जना सदस्यसहित ४३ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।