काठमाडौँ, माघ २३ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्यलाई पुष्टि गर्न सक्ने मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित भएको मान्य नहुने प्रष्ट पार्नुभयो।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नकेपा एमाले)का संस्थापक एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नेृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नेतृत्व क्षमताको उदाहरण दिनुभएको छ।
“पद पाउनु नेतृत्व साबित हुनु होइन,” उहाँले भन्नुभयो,“पदीय जिम्मेवारीमार्फत् के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नै नेतृत्व क्षमता हो।” उहाँका अनुसार नेतृत्वले रुपान्तरण माग गर्ने बताउँदै रुपान्तरण ल्याउन सक्ने नेतालाई नै जनताको मनमा स्थान पाउन सक्ने धारणा राख्नुभयो।
काठमाडौँ महानगरपालिकामा हालसम्म कुनै पनि पदमा बसेका मेयरले नेतृत्व पुरा गर्न नसकेको बताउँदै उहाँले पूर्व मेयर केशव स्थापितको भने असल नेतृत्व क्षमता रहेको दाबी गर्नुभयो।
“काठमाडौँ महानगरपालिकामा अहिलेसम्म धेरै मेयर बने तर नेतृत्व क्षमता केशव स्थापितको थियो” उहाँले भन्नुभयो,“नेतृत्व क्षमता जो कोही सँग हुँदैन।”
उहाँले निजामती कर्मचारी संगठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो संगठन बन्न विचार, भावना, संगठन र शैलीमा एकरुपता आवश्यक हुने बताउनुभयो।