काठमाडौँ, माघ २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले भानु साहित्य उद्यान समितिका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव विजयराज भट्टराईको निधनबाट आफू स्तब्ध भएको बताउँदै मुलुकले एक कर्मठ र निष्ठावान राष्ट्रसेवक गुमाएको बताउनुभएको छ।
भट्टराईका परिवारजनलाई बुधबार समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो।
“मेडिसिटी अस्पतालमा उपचारकै क्रममा यही माघ २१ गते भट्टराइको दुःखद निधन भएको खबरले म स्तब्ध भएको छु, विद्यार्थी अवस्थादेखिनै अत्यन्त प्रखर र कर्मनिष्ठ व्यक्तित्व भट्टराईको निधन राष्ट्र र समाजका लागि अपुरणीय क्षति हो”, समवेदना सन्देशमा भनिएको छ। राष्ट्रपति पौडेलले भट्टराईको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपति पुत्री अवज्ञा पौडेलले सो समवेदना सन्देश भट्टराईको निवासमा गएर परिवारजनलाई हस्तान्तरण गर्नुभएको छ।