• २३ माघ २०८१, बुधबार

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ : मन्त्री सिंह

blog

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, माघ २३ गते। मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ। 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले बुधबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा एचपिभी खोप अभियान २०८१/०८२को शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। 

उहाँले पाठे घरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चारदेखि छ जनासम्म महिलाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको भन्दै नेपाल सरकारको लामो प्रयासपछि देशभर सञ्चालन भएको यो खोप अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा नेपाली का‍ंग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुवरकान्त झाले स्वास्थ्य क्षेत्रमा सरकारले उपलब्ध गराउने गरेको सुविधामा गरिब निमुखा जनताको अझै पहुँच नरहेको भन्दै मधेश प्रदेशमा टोलटोलमा अभियानको बारेमा जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक श्रवण नायकले माघ २२ गतेदेखि सञ्चालन भएको एचपिभी खोप अभियान फागुन ६ गतेसम्म चल्ने र मधेश प्रदेशको तीन लाख ६९ हजार १२४ जना बालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो। 

कार्यक्रममा स्वास्थ्यमन्त्री सिंहले लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रलाई भ्याक्सिन केरियर बुझाएर अभियानको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव राजेश मिश्र, खोप सल्लाहकार समितिका सदस्य गरिब दास ठाकुर सहितकाले अभियानलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।