• २३ माघ २०८१, बुधबार

निर्माण हुँदै सात झोलुङ्गे पुल

blog

फाइल तस्बिर

सल्यान समाचारदाता

सल्यान, माघ २३ गते । सल्यानमा सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । विभिन्न खोलामा चालु आर्थिक वर्षमा मात्र सात वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमार्फत कार्यान्वयन हुने गरी झोलुङ्गे पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले एक करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । वनगाढ कुपिन्डे नगरपालिकामा तीन, बागचौर नगरपालिकामा एक, कालीमाटी गाउँपालिकामा दुई र त्रिवेणी गाउँपालिकामा एउटा पुल निर्माण गर्न लागिएको हो । 

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाका अनुसार वनगाढ कुपिन्डे नगरपालिका–५ मा राउचे सेरा शङ्खपिल, बालुवासङ्ग्रहीखोलामा गहरा स्कुलदेखि गैरीकटेरी जोड्ने पुल तथा वडा नं. ६ मा चुकेपाखा मानडाँडा भलाखर्कमा पुल निर्माण गरिने छ । बागचौर नगरपालिका–३ मा पर्ने थारचौर, कालीमाटी गाउँपालिका–७ को घुइयाँबारी–गँगटे जोड्ने पुल र वडा नं. ४ मा खारखोला–ठाकुर जोड्ने पुल, त्रिवेणी गाउँपालिकामा खारेबास–राङ्सी जोड्ने झोलुङ्गे पुल निर्माण गरिने छ ।