ललितपुर, माघ २१ गते । ललितपुर जिल्लाकाे माझखण्ड पर्यटन परियोजनाअन्तर्गत छपेली माझखण्ड केबुलकार शिलान्यास सोमबार शिलान्यास गरिएको छ । बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दूरी दुई दशमलव आठ किलोमिटर छ ।
डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको याे केबलकार एक अर्ब २० करोड लगानीमा बन्ने छ । केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने छन् । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने बताउनु भयो ।
प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्धनका लागि सुरु गरिएको उक्त योजनाको सफलतासँगै ललितपुरको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरू आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँ माझखण्डको मुहार फेर्नमा केबुलकार निर्माणको काम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो ।
काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिना टावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताउनु भयो ।
महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का (७० × ६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालको भनाइ छ ।