मुना हमाल
सुर्खेत, माघ २१ गते । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशलाई समृद्ध बनाउन सबैको समर्पण आवश्यक रहेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहमा प्रमुख जोशीले जनताको चाहनालाई पूरा गरी समृद्धि हासिल गर्न समपर्ण आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कर्णालीलाई समृद्ध गराउँछौँ भनेर भन्याैँ । आज कहाँ छौँ भनेर मूल्याङ्कन गर्न आवश्यक छ । जनतालाई के–के बचन दिएका थियौँ र कति अगाडि बढाउन सक्यौँ । यस बारेमा छलफल गर्न आवश्यक छ ।’
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले स्थापना दिवसको अवसरमा कर्णालीको समृद्धका लागि सबै पक्षलाई अग्रसर हुन अपिल गर्नुभयो । उहाँले आगामी दिनमा जनतासँग जोडिएका समस्या सम्बोधन गर्न आवश्यक कानुन निर्माणमा गम्भीरतासाथ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले कानुन निर्माण र सरकारले गरेका काम कारबाहीको अनुमगन र मूल्याङ्कनको काम गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रदेश स्थापना भएको सात वर्षमा ६० वटा कानुन निर्माण भएका छन् । पहिलो प्रदेश सभाको कार्यकालमा ५३ र दोस्रो कार्यकालमा सात वटा सरकार र मातहतका संरचनामा नियमित नभई नहुने कानुन निर्माण भएको बताउनुभयो ।
यस्तै, कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले अहिलेको व्यवस्थालाई कार्यान्वयन गर्न र जनताको आवश्यकता पूरा गर्न सबैमा समपर्णको भाव चाहिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले भइरहेको व्यवस्था ल्याउन हिजो जुन बलिदान, त्याग, योगदान थियो । आज पनि कार्यान्वयनका लागि पनि त्याग र समर्पण चाहिएको छ ।’ उहाँले संविधान कार्यान्वयनका लागि दलहरूले नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
मुख्यमन्त्री यामलाल कंडेलले नीति निर्माणमा सार्थक थलो बनाउने कुरामा सबैको सार्थक भूमिका रहनु पर्ने बताउनुभयो । उहाँले सरकार जनमुखी काम गरेको बताउनुभयो । उहाँले यो सात वर्षको अवधिमा अपेक्षाअनुसार काम हुन सक्यो सकेन भनेर समीक्षाको विषय बनेको उल्लेख गर्नुभयो ।
उहाँले जनता र देशको अवस्था बदल्ने हिजो जुन निष्ठा, त्याग र समर्पण थियो आज पनि त्यतिकै जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनता र देशको अवस्था बदल्ने हिजो जस्तो निष्ठा, त्याग र समपर्ण थियो, आज पनि त्यतिकै त्याग र समर्पण चाहिन्छ । त्यसमा कमी आउँदा जनताले गरेको भरोसा कमी आउँछ ।’
उहाँले हिजोका दिनमा स्रोत साधन नहुँदा पनि विकासका काम अघि बढेको र अहिले बजेट विनियोजन हुँदा काम हुन नसकेको बताउनुभयो । जनताको छोराछोरी सरकार सञ्चालन गर्ने ठाउँमा पुग्ने गणतन्त्र र लोकतन्त्रको अरू विकल्प नहुने बताउनुभयो ।
उहाँले इमानदारपूर्वक जनताको सबै सम्बोधन नगरे पनि जनतालाई निराशा नगराउने गरी सरकार अघि बढेको उहाँले दाबी गर्नुभयो । प्रदेश सभाबाट पास भएको नीति तथा कार्यक्रमलाई नै सरकारले कार्यान्वयन गरेको उल्लेख गर्दै ७० प्रतिशत बजेट पुराना योजनामा लगानी गरिएको उल्लेख गर्नुभयो ।