• २१ माघ २०८१, सोमबार

घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु

blog

मोतीविन्दुको शल्यक्रिया गर्दै आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइली । तस्बिर : गोरखापत्र

सन्तोष दहित

दाङ (घोराही), माघ २१ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन)  सेवा सुरु भएको छ । 

प्रष्तिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आएको आए पनि शल्यक्रियाको सेवा भने भएको थिएन । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरेको बताउनुभयो । उहाँले अहिलेसम्म पाँच जनाको  मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

यो सेवा सुचारु भएसँगै घोराही बङ्गला चुली लगायतका नागरिकलाई सहज हुने सूचना अधिकारी भट्टराले बताउनुभयो । यस अघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिका लगायतका नागरिकहरू आँखाकाे शल्यक्रियाका लागि तुलसीपुर स्थित रक्षाचौर र लमही स्थित आँखा अस्पतालमा जानुपर्ने बाध्यता थियो । उहाँले अबदेखि प्रतिष्ठानमा आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीले नियमित रूपमा मोतीविन्दुको उपचारसँगै शल्यक्रिया हुने जानकारी दिनुभयो । 

यसैबिच आँखा रोग विशेषज्ञ  डा. रसाइलीले आइतबार देखि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको बताउनुभयो । “यसअघि सामान्य अप्रेसन, उपचार त हुँदै आएकोथियो, उहाँले भन्नुभयो, म आएपछि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको हुँ  ।” उहाँले आफु गत पुस १ गतेदेखि प्रतिष्ठानमा ज्वाइन भएको बताउनुभयो । 

उहाँको अनुसार मोतिविन्दुको शल्यक्रियाका लागि न्यूनतम दस हजार देखि ४० हजारसम्म खर्च हुन्छ । मोतीविन्दुको शल्यक्रियाका लागि लेन्स अनुसार खर्च हुन्छ, डा. रसाइलीले भन्नुभयो, लेन्सको कुन क्वालिटी प्रयोग गर्ने हो, त्यहि अनुसार खर्च हुन्छ । उहाँले आधुनिक प्रविधिको माध्यमबाट सहज तरिकाले मोतीविन्दुको शल्यक्रिया गरिरहेको बताउनुभयो । 

अहिले अनुहारमा हड्डी भाचिएको, आँसु नलीको अप्रेसन, आँखाको क्यान्सर अप्रेसन, कोस्मेटिक अप्रेसेन, जलविन्दुको अप्रेसन र मोतीविन्दुको अप्रेसन गरिँदै आएको डा. रसाइलीले जानकारी दिनुभयो ।