बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्जलाई पछि बर्दिया वन्यजन्तु आरक्ष बनाइएको थियो । २०४५ साल मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो ।
बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको यो निकुञ्जको क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छ भने मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर छ । स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्न २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा भएको थियो ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जङ्गल छन् । तराईको धेरै जसो भाग सालको जङ्गलले ढाकेको छ भने बिचमा घाँसे मैदान रहेको छ । पाटेबाघ र यसका आहारा प्रजातिको वासस्थान संरक्षण गर्ने उद्देश्यले यस निकुञ्जको स्थापना गरिएको हो । यस निकुञ्जमा बाघ, हात्ती, एकसिङे गैँडालगायत ६१ भन्दा बढी स्तनधारी प्रजाति (१० वटा संरक्षित), ५१३ भन्दा बढी प्रजातिका चरा, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र १२० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।
पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । निकुञ्ज अन्तर्गत हालसम्म तीन वटा सेक्टर, आठ वटा रेन्जपोस्ट र २४ वटा पोस्टबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवासम्बन्धी कार्य हुँदै आएका छन् ।
नेपालको दोस्रो ठुलो सङ्ख्यामा प्रभावकारी रूपमा बाघ संरक्षण भएको यो निकुञ्जले २०२२ मा बाघ दोब्बर बनाउन सफल भएबापत टिएक्सटु पुरस्कारबाट सम्मानित भएको थियो । सन् २०२२ को गणना अनुसार यस निकुञ्जमा १२५ वटा पाटेबाघ छन् । यो निकुञ्ज सफल रूपमा गैँडाको स्थानान्तरण भएको राष्ट्रिय निकुञ्जका रूपमा परिचित छ । सन् २०२१ को गणना अनुसार यस निकुञ्जमा ३८ वटा एकसिङे गैँडा छन् । यो निकुञ्ज जङ्गली हात्तीको सबैभन्दा ठुलो वासस्थान क्षेत्र पनि हो । यहाँ १२० भन्दा बढी जङ्गली हात्ती रहेका छन् ।
सन् २०२२ को गणना अनुसार यस निकुञ्जमा ९४ वटा बाह्रसिङ्गा छन् । यसलाई नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपछिको बाह्रसिङ्गाको दोस्रो प्राकृतिक वासस्थान भएको क्षेत्रका रूपमा समेत चिनिन्छ । त्यस्तै यहाँ घडियाल गोही १५ देखि २१ वटा छन् । निकुञ्जको कर्णाली नदी क्षेत्रमा डल्फिन देख्न सकिन्छ ।