महाभारतको कथा अनुसार पाँच पाण्डव र आमा कुन्ती लाक्षागृहमा थिए । उनीहरूलाई मार्न कौरवहरूले त्यो घरमा आगो लगाइदिए । उनीहरू उम्केर काम्यक वनमा गए । लामो हिँडाइले थाकेका उनीहरू एउटा रुखमुनि बसे । उनीहरूलाई धेरै तिर्खा पनि लागेको थियो । पाँच पाण्डवमध्ये माहिला भीमसेन चाहिँ पानीको खोजीमा जङ्गलभित्र गए । त्यस जङ्गलमा हिडिम्ब नामको राक्षसको पनि बसोबास रहेछ । पाण्डव आएर त्यहाँ बसेपछि हिडिम्बलाई मान्छेको बास्ना आएछ । उनले आफ्नी दिदी हिडिम्बालाई ती मान्छेलाई पक्रेर ल्याउन पठाएछन् । उता पानीको खोजीमा गएका भीमसेनले बल्ल बल्ल एउटा पोखरी फेला पारेछन् । उनले पहिला आफैँ पेटभरि पानी खाएछन् । त्यसपछि अरूलाई पानी लिएर आएछन् । यता भीमसेन आइपुग्दा त थकाइले सबै निदाइसकेका रहेछन् । त्यसैले भीमसेन आफ्नी आमा र दाजुभाइको सुरक्षार्थ खडा भएछन् ।
आफ्ना भाइले भने अनुसार हिँडेकी हिडिम्बा त्यहाँ आइन् । नजिकै आइपुग्दा भीमसेनले आमा र दाजुभाइलाई पहरा (रेखदेख) दिइरहेको देखिन् । भीमसेनको बलियो शरीर र आकर्षक मुहारबाट उनी लोभिइन् । उनी राक्षसी भए पनि भीमसेनप्रति ममताभाव पैदा भएछ । उनले पनि आफ्नो स्वरूप परिवर्तन गरी अत्यन्तै सुन्दरी बनाइन् । त्यसपछि भीमसेनको छेउ गइन् । आफ्नो छेउमा परम रूपवती नारी आएपछि भीमसेनले सोधेछन्, “तिमी को हौ ? रातको समयमा यो भयानक जङ्गलमा किन घुमिरहेकी छौ ?” भीमसेनको प्रश्नको उत्तर दिँदै उनले भनिन्, “हे पुरुष श्रेष्ठ ! म हिडिम्बा नाम गरेकी राक्षसी हुँ । मेरा भाइ हिडिम्बले तपाईंहरूलाई पक्रन पठाएका छन् । तपाईंलाई देख्नासाथ मेरो हृदय एकाएक परिवर्तन भयो । म तपाईंको रूप र शरीरले आकर्षित भएँ । म तपाईंलाई मेरो पतिको रूपमा चाहन्छु ।”
हिडिम्बाले थप कुरा पनि भनिन्, “मेरो भाइ हिडिम्ब साह्रै दुष्ट र क्रुर छ । मभित्र तपाईंहरूलाई उसको जानकारीबाट टाढा राख्ने क्षमता छ ।” मान्छे खोज्न पठाएकी दिदी धेरै बेरसम्म नआएपछि हिडिम्ब आफैँ दिदी गएतिर लागेछन् । दिदी त एउटा पुरुषसँग गफिइरहेकी देखेर उनी रिसाएछन् । बहिनीलाई दण्ड दिन हात उठाएछन् । त्यही बेला भीमसेनले छेक्दै भनेछन्, “ए दुष्ट, सक्छस् भने मसँग लडाइँ गर । स्त्रीमाथि के हातपात गर्छस् ?” उनीहरूको यो आक्रोशित छलफल सुनेपछि निदाइरहेका सबै ब्युँझिएछन् । उठ्दा त दुवैका बिचमा भयानक लडाइँ भइरहेको रहेछ ।
भीमसेनले हिडिम्बलाई जुरुक्क उचालेर हावामा धेरै बेर फनफनी घुमाएछन् । त्यसपछि भुइँमा बजारेछन् । हिडिम्बलाई मारेपछि त्यहाँबाट अन्तै जान लागेछन् । भीमसेनलाई पतिका रूपमा चाहने हिडिम्बा कुन्तीको पाउमा परेर बुहारीका रूपमा स्विकार्न बिन्ती गर्न थालिन् । उनले भीमसेनलाई पतिका रूपमा स्विकारिसकेको सुनाइन् । बुहारीका रूपमा आफूलाई नस्वीकारे त्यहीँ प्राण त्यागिदिने डर देखाइन् ।
आफ्ना भाइ भीमसेनप्रतिको त्यो समर्पणभाव देखेर युधिष्ठिरले हिडिम्बालाई दिउँसोको समयमा मात्र भीमसेनसँग बस्न पाउने, राति चाहिँ भीमसेन आफूहरूसँग बस्ने सर्त राखे । हिडिम्बाले त्यो सर्त मानिन् । यसरी हिडिम्बा भीमसेनकी पहिली पत्नी बनिन् । हिडिम्बाले भीमसेनसँग आनन्दपूर्वक जीवन बिताउन थालिन् । एक वर्षपछि उनीहरूबाट घटोत्कच नाम गरेको एउटा छोरा जन्मियो । राक्षसकुलकी भए पनि विचारमा सकारात्मक बनेपछि पाण्डवहरूले उनलाई स्वीकारे । महाभारतको युद्धमा छोरा घटोत्कच मरेपछि हिडिम्बाले भीमसेनसँगको बसाइ छोडिन् । एक आध्यात्मिक चरित्रका रूपमा बाँकी जीवन बिताइन् ।