प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २१ गते । सल्यानका तीन सामुदायिक वनमा आगलागी भएको छ । यहाँको बागचौर नगरपालिका १ को लालिगुरास सामुदायिक वन, वडा नम्बर १० को शुभपोखरी वसामुदायिक वन र पिपलचौतारी सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यलय सल्यानले जनाएको छ ।
आगो आइतबार मात्र नियन्त्रणमा आएको छ । सिद्ध कुमाख बागचौर सव– डिभिजन वन कार्यालय थारमारे, जिल्ला प्रहरी कार्यालय सल्यान, वन समूहका पदाधिकारी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट एक सय २९ हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ ।
आगलागीबाट सल्लाका रुख, पिपल, धुपिसल्ला र हलुवावेद गरी १२ सय ६० रुख विरुवा जलेर नष्ट भएका छन् । यस्तै आगलागीले वनमा रहेका थुप्रै जङ्गली जनावरको जलेर मरेको अनुमान गरिएको छ । जिल्लामा गर्मी समय बढेसँगै आगलागीका घटना पनि बढ्दै गइरहेका छन् ।
वन जङ्गलमा आगलागी हुने सम्भावना रहेकाले यसबाट सजग हुन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि सामुदायिक वनमा आगलागी हुने घटना नरोकिएको सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराइले बताउनुभयो । उहाँका अनुसार स्थानीयले नै आगो लगाउने भएकाले प्रत्येक वर्ष वन सम्पदामा ठुलो क्षति हुँदै गएको छ । यहाँका आगलागी सम्बन्धि जिल्लाका स्थानिय तहहरु पनि गम्भीर नदेखिएको पाइएको छ ।