राधा लुइटेल
फिदिम, माघ १९ गते । पाँचथरको फालेलुङ गाउँपालिका ४ महभीरमा आगलागी हुँदा डेरी उद्योगमा क्षति भएको छ । स्थानीय मोहन थाम्सुहाङले सञ्चालन गर्दै आएको उद्योगमा आगलागी हुँदा घ्यू, छुर्पी र दुध पेल्ने मेसिन सहितका सामग्री जल्दा सात लाख रुपियाँ बराबरको क्षति भएको थाम्सुहाङले बताउनुभयो ।
छुर्पी पकाउन सल्काएको आगोका कोइलाबाट आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ । बिहानको काम सकेर मानिस बाहिर निस्केका बेला आगो सल्केको स्थानीय श्याम सहयात्रीले बताउनुभयो ।
आगलागी हुँदा तीन सय किलो छुर्पी, एक सय किलो घ्यू र दुग्ध पेल्ने मेसिन तथा घ्यू–छुर्पी उत्पादनमा प्रयोग हुने सम्पूर्ण उपकरणहरू जलेका छन् । आगो स्थानीयको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन गर्न प्रहरी र जनप्रतिनिधि घटनास्थल पुगेका छन् ।