काठमाडौं, माघ १९ गते । नेपाली भाषा साहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यसैगरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत श्री शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भयो ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ छन् । साथै कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको सम्वर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भयो ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।