• १९ माघ २०८१, शनिबार

मेरो मन उडेर तोरीबारीमा नाच्न थाल्यो

blog

यात्रा भनेपछि त्यसै उल्लासिन्छन् पैतालाहरू । स्रष्टा पदयात्राको ९० औँ शृङ्खलामा जोडिन पाउँदा झन् मन झुमेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको निम्तामै सहभागी हुन पाउँदा त झन् हर्षित छ मन । नैकाप पुगेपछि मोबाइलको घन्टी बज्यो । मोबाइलमा नौलो छ नम्बर, नाम छैन । “कोही सहयात्री नै होलान्, नत्र यति बिहानै किन फोन आउँथ्यो ?” विश्वासको धुन अलाप्न थाल्यो मनले । झट्ट कलब्याक गरिहालेँ, “हेल्लो नमस्कार... ।” परिचय सोध्नुअघि नै उताबाट सोधनी भयो, 

“कहाँ आइपुग्नुभयो ?” 

“नैकाप... ।”

“ए हिँडिसकेको...? म त धोबीखोलामा छु, अब 

निस्किन्छु ?” मसिनो र शालीन स्वर चिन्न सकिनँ । भर्खरै सुनेको आवाजलाई परिचित अनुहारसँग मिलाउन खोज्छु, कतै मिल्दैन त्यो श्रुतिमधुर आवाज । 

माघ ४ को काठमाडौँलाई चिसोले ढाकेको छ । जिउभरि हिमाल, पहाड र तराई अनुसारको पहिरन एकैचोटि भिरेर हिँडेकी छु । रात बस्ने गरी जानु छ । कस्तो होला बास? मलाई अलि ज्यादै जाडो हुन्छ । साँच्चै भन्दा रातिको लागि सिरक नै ओढेर हिँडेकी छु । अटेसमटेस भएको छ आफ्नै शरीर । गाडी खचाखच छ । विद्यार्थी भाइबहिनी उभिएका छन् बडो सकसले । सहचालक भाइ गाडीभित्र मान्छे मिलाउन चिच्याउँदै छन् ।

युवाहरूको अनुहार नियाल्छु । कठैबरी ! बिहानै थकित छ मुहार । पढ्न हिँडेका युवाहरू यसरी बिहान बिहान सहचालकको कर्कस बोलीमा अभ्यस्त हुँदै छन् । कठै मेरो देश !  मेरो मन माटोमा खाँदेको साग जस्तै हुँदै गयो । सोचेँ, विद्यार्थीले शान्तिको सास फेर्दै सम्मानपूर्वक यात्रा गर्न कहिले पाउलान् सार्वजनिक यातायातमा । युवाको मन पढ्छु, दिक्क लाग्छ । सोच्दा हुन्, “१२ त सकिन देऊ, अनि त के खाएर बसौँला यो देशमा ।”

युवा मस्तिष्कमा झाँगिएको विदेशमोह आखिर के कारणले ? के भेट्दैनन् यो देशमा ? कुन पाटोले भत्काउँछ युवा मन ? मस्तिष्कको नाङ्लोमा केलाउन थाल्छु देशको दुरुह अवस्था । गाडी कलङ्की कटिसकेको छ । ठिक ६ः४० मा जडीबुटीको आकासे पुलमा भेला हुने उर्दी छ शीतल गिरी दाइको । बानेश्वर पुग्दा ६ः४५ भइसकेको छ । जडीबुटी पुग्दा गङ्गा भेटवाल, नवराज रिजाल, दीपक भेटवाल सर आइसक्नुभएको रहेछ । केहीछिनमा शान्ति सापकोटा म्याम पनि आइपुग्नुभयो । अगि मलाई फोन गर्ने मान्छे त शान्ति म्याम पो हुनुहुँदो रहेछ । 

चाबहिलबाट हिँडेको गाडी जडीबुटी आइपुग्न केही बेर त लागिहाल्यो । शान्ति म्याम र म अशान्त हुँदै गएका छौँ । बिहान खाएको पानीलाई व्यवस्थापन गर्न अत्तालिएका छौँ । हामी अलि तलसम्म जान खोज्यौँ । हामीसँगै अरू पदयात्री पनि मनहराको पट्रोल पम्पसम्मै गए । हामी शान्त भएपछि गाडी पनि आइपुग्यो । 

अरनिको राजमार्गमा बेधडक गाडी गुड्न थाल्यो । भक्तपुरबाट शोभा शरभ पनि पदयात्राको शोभा बढाउँदै उक्लिनुभयो । सानोठिमी पुगेपछि यात्रीको सङ्ख्या पूर्ण भयो । चालक र सहचालक भाइबाहेक हामी १९ यात्री छौँ बसमा । हाम्रो यात्राले नगरकोटलाई प्रभातकालीन नमस्कार गर्न गति लियो । भक्तपुरको घना बस्तीलाई छिचोल्दै करिब एक घण्टामा नगरकोट पुग्यौँ । अझ घुम्टो उघारेको छैन प्रकृतिले । शिशिरको बिहानीमा घामको प्रभाती किरण बडो पारिलो देखिएको छ । नगरकोटका भिरपाखा, कान्लाकुन्ली र तरेलीहरू सूर्यको ताममा तङ्ग्रिँ्रदै छन् । पर्यटकलाई स्वागत गर्न उठाउँदै छ नगरकोट । पर्यटन प्रवर्धनमा नगरकोटको महŒवपूर्ण हात छ । व्यापार व्यवसाय सन्तोषजनक छैन भन्दा पनि मलाई अहिले पत्यार लागेको छैन । चारैतिर देख्छु बन्दै गरेका रिसोर्ट र होटेलका संरचना । कतै देखिन्छ, प्लटिङमा टुव्रिmएका नगरकोटको भूमि । 

गाडी नगरकोटमा टक्क रोकियो । चिया पिउने उद्देश्यले सडकछेउ चिया पसलमा ओर्लियौँ । चिसो नगरकोटमा तातो चिया सुक्र्याएपछि नाल्दुमनजिकैको गुरुङगाउँलाई गन्तव्य बनाएर मण्डनदेउपुरको भूमितिर ओरालियौँ । 

केहीबेरको ओरालो यात्रापछि मण्डनदेउपुर नगरपालिका–३ मा ओर्लियौँ । महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराम सापकोटा, वडा नम्बर ३ का अध्यक्ष तथा पालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंसहित स्थानीय स्वागतमा उभिनुभएको थियो । तामाङ समुदायको बाहुल्य रहेछ, यो पालिकामा । बसोबासका हिसाबले तामाङ, गुरुङ, ब्राह्मण, क्षेत्री, दलितको बसोबास रहेछ । सांस्कृतिक, प्राकृतिक, भौगोलिक र जातीय विविधता यहाँको विशेषता रहेछ ।

गुरुङ बस्तीमा घरबासको व्यवस्था रहेछ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष विकास गुरुङसहित देवराज गुरुङलगायत गाउँलेले आत्मीय आतिथ्यता दिनुभयो ।  पदयात्रीको स्वागतमा पछाडिबाट हिमाल पनि घुम्टो उघार्दै स्वागतमा मन्द मन्द मुस्कुराउँदै थियो । चारैतिर दृष्टि फिजाउँछु । लाग्छ, प्रकृति पनि हाम्रो स्वागतमा सन्तुष्ट छिन् । खुला ठाउँमा प्लास्टिकका कुर्सीहरू गोलाकार रूपमा मिलाइएको छ ।

वरिपरि घुमेर हामी बसेका छौँ । देखिन्छ यहाँको धराले प्रकृतिको अनुपम सौन्दर्य अँगालेर बसेको । उत्तरतिर एक लहरमा उभिइरहेका छन् अटल हिमालहरू । लाङटाङ, गणेश र अन्य हिमशिखर बादलसँग लुकामारी खेल्दै छन् । सूर्यको किशोर ताप हिमाललाई स्पर्श गरेर हाम्रो अङ्ग अङ्ग सुम्सुम्याउँदै छ । बडो आनन्दी छ सम्पूर्ण वातावरण ।  स्थानीयको मुहारमा खुसीको मिठो हिमाल हाँसेको देखेर मेरो हृदय सगरमाथातिर उक्लियो । ‘अतिथि देवो भवः’ सुन्दै आएकी म आज यो नौलो भूमिमा यो किसिमको सम्मानित आतिथ्य ग्रहण गर्दै छु । बारम्बार साहित्यलाई नमन गर्न पछि पर्दिनँ । निलो आकाशको पवित्र छायामा हिमाललाई साक्षी राखेर हामी उभिएका छौँ । प्रकृतिको नजिक हुन पाउँदा मधुरिएका छौँ । मक्खिएका छौँ । हामी बसेको ठाउँबाट पर परसम्म देखिन्छ शिशिरको खेतीपाती उमारेका भरिला गराहरू । मौसम अनुसार देखिन्छ, देउपुरको खेतीयोग्य भूमि । मण्डनदेउपुर पहाडी भूमिमा अवस्थित छ । गरा र कान्लाहरू बडो कलात्मक देखिएका छन् । निलो आकाशमुनि पहेँलो र हरियो रङमा यो मौसम रङ्गिएको छ । 

मण्डन र देउपुर मिलाएर गठन गरिएको नगरपालिकामा ‘होमस्टे’ प्रवर्धन गरिएको रहेछ । यस कार्यव्रmमले पर्यटन व्यवसायलाई मलजल गरेको जानकारी पाइयो । यस्तो कुरा सुन्न पाउँदा खुसी लाग्यो । विदेशबाट फर्किएका विकास गुरुङले सुनाउनुभयो, “आफ्नै देशमा केही गरौँ भनेर अड्याउन खोजेको हुँ उठेका यी पाइला । देशमा बगाउन खोजेको हुँ मेहनतको पसिना । यही डाँडाथुम्कामा बसेर पर्यटकलाई चिनाउन खोजेको हुँ हिमाल । करेसामा फलाएका अन्नबाली र तरकारीले स्वागत गर्न खोजेको हुँ पाहुना ।” विकासका यी ऊर्जाशील भनाइमा गडगडाहट ताली ठोक्यौँ सबैले । साँच्चै गरे के छैन यो भूमिमा । घोटिएका छन् ऊर्जावान् विकासहरू यो पहाडी धुलोमा केही गरौँ भनेर । सबैले सबैतिरबाट सहयोग गर्नु पर्छ । स्थानीय युवालाई मद्दत गर्ने विश्वास जनप्रतिनिधिले जागेर गर्दा, साँच्चै स्थानीय सरकारले केही त गर्दै छ भन्ने लाग्यो । सुन्छु, जनप्रतिनिधिको आवाज, “स्थानीय सरकारले सुरक्षित गर्दै छ पुराना बाटाघाटा ।” हो, पदयात्रालाई सबैले महŒवसाथ अनिवार्य संस्कृति बनाउनु पर्छ । आफ्ना मौलिक संस्कार, सभ्यता, संस्कृति र मार्गहरू सुरक्षित त राख्नै पर्छ । मनभरि कुराहरूको ढकमक्क तोरी फुल्दै छ ।

गाउँदेखि सहरसम्म जोडिएको छ, देउपुरको कृषि । सडक पहुँचले कृषि उत्पादन बजारमा सजिलै निर्यात गर्न सकिने अवस्था छ । होटेल र होमस्टेमा स्थानीय उत्पादन सजिलै खपत हुने देखिन्छ तर युवा १२ कक्षा सकिनेबित्तिकै विदेश जाने होडमा छन् । विदेशमोहले यो क्षेत्रलाई पनि छोडेको छैन । शिक्षाको समग्र अवस्था सन्तोषजनक भए पनि देशमा युवा रोकिने अवस्थामा छैनन् । विद्यालय जाने उमेरका कुनै पनि बालबालिका विद्यालयबाहिर छैनन् । पढ्दापढ्दै उमेरै नपुगी भागीविवाह गर्ने चलनले विद्यालय शिक्षा पूरा गर्न नसकेको अवस्था पनि लुकेको छैन ।  कृषिमा निर्भर समाज आजित छ बँदेलको आव्रmमणदेखि । फलामको दरो छेकबार लगाउन पाए खेती जोगिन्थ्यो कि भन्ने भावना किसानको छ । किसानले लगाएका अन्नबाली सखाप पार्छन् जङ्गली जनावर । यहाँ आलु, गहुँ, कोदो, मकै, फापर मज्जैले फल्दो रहेछ । 

हरहर बास्नाले बतायो, हाम्रा लागि खाना तयार हुँदै छ । रायोको सागको स्वादिलो बास्ना बाहिरसम्म आएको छ । हामी बसेको ठाउँभन्दा मुनि देख्दै छु, पहेँलपुर तोरीबारी । स्रष्टा पदयात्री आआफ्ना रचना वाचनमै मस्त हुनुहुन्छ । मेरो मन उडेर तोरीबारीमा नाच्न थाल्यो । गहुँबारीले हरियो सारी लगाएर पहेँलपुर तोरीबारीलाई सम्मोहित पार्दै छ । राता छाना लिएका घरहरू दङ्ग छन्, यो विमुधकारी वातावरणमा । छेउमा देख्छु मुलाबारी । मुला जमिनबाट निस्किएर हामीलाई स्वागत गर्न खोज्दै छन् । प्रकृतिको काखमा बालख भएर लाडिएका छौँ । फोटो खिच्ने व्रmम रोकिएन खाना नपस्कुन्जेल । उक्लियौँ डिलमाथि । तातो तातो मीठो खाना । आहा ! पारिलो घाम । पलेँटी कसेर बसेका छौँ । अगाडि ठिङ्ग हिमाल उभिइरहेका छन् । 

Author

अनिता कोइराला