• १८ माघ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभामा सम्बोधन

‘धुलो उडिरहेको मुग्लिन–पोखरा सडक चिल्लो बनेको छ’

blog

प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आइरहँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनताको भरोसा र विश्वास लिएर सरकार काममा लागेको छ । सङ्घीयताको प्रभावकारी कार्यान्वयन, संविधानका केही दफा संशोधन गर्ने, नयाँ कानुन ल्याएर सुशासन कायम गर्ने लक्ष्य लिएर सरकारमा आएका थियौं, त्यो काम तीव्ररुपले भइरहेको छ ।” 

प्रधानमन्त्री ओलीले संसद् बैठकमा गर्नुभएको सम्बोधन संक्षेपमा

सर्वप्रथम यस गरिमामय सदनको पाँचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । म यस गरिमामय सदनमार्फत देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात–अज्ञात सहिदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीर–वीराङ्गनाहरूप्रति हार्दिक नमन एवं श्रद्धाञ्जलि अर्पण गर्दछु । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने सहिदहरूका महान् सपनालाई साकार पार्ने दृढ सङ्कल्प पनि गर्दछु । साथै यस राष्ट्रको जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह र मदन भण्डारीलगायत सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । ‘पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो ।’ 

सभामुख महोदय, 

यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो । त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो । सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका वृद्ध बाबु–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनें । सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिशप्त छौं । 

मैले सङ्कल्प गरें– अब हामीले यस स्थितिलाई बदल्नुपर्नेछ र त्यसका लागि काम गर्नुपर्नेछ। यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु । यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग छिचोलिएको (ब्रेक–थ्रु) भएको छ । अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउनेछौं । यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्नेछ । यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ । त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउनेछ । सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेका थियौं । 

सम्माननीय सभामुख महोदय,

प्रधानमन्त्री भएपछि संसदबाट विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो । थालेका कामहरुलाई हामी कहाँ लग्दैछौं ? यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनुपर्छ । 

- काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ ।

- चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगबनी–किमाथाङ्का सडकमार्ग केही दिन अघि मात्र ब्रेक–थ्रु भएको छ । 

- ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रुत गतिमा अघि बढिरहेको छ । 

- यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ ।

- खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ । 

- रङ्गशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रङ्गशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद सन्देश हो । 

- विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।