• १८ माघ २०८१, शुक्रबार

के बिरुवाले पनि सास फेर्छ ?

blog

के बोटबिरुवाले पनि हामीले जस्तै सास फेर्छ ? सास फेर्छभन्दा अचम्म लाग्न सक्छ । तिनीहरूमा न नाक न त मुख छ । फेरि कसरी कहाँबाट सास फेर्छ होला ? सास नफेरीकन त नबाँच्नुपर्ने तर बाँच्छ कसरी ? यो कुरा साँच्चिकै अनौठो छ । आज हामी यसकै बारेमा चर्चा गरौँ है त ?

सबै सजीवलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ जुन हावाबाट पाइन्छ । जनावर र बिरुवा दुवै थरी सजीव वर्गमा पर्ने हुँदा दुवैलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । त्यसका लागि वातावरण वा हावामा रहेको अक्सिजन लिनुपर्ने हुन्छ । अक्सिजन लिन सास फेर्नु पर्दछ । सास फेरेका कारण बाँचेको हुँदा बिरुवाले सास फेर्छ भन्ने प्रमाणित हुन्छ । 

सास फेर्न जनावरको नाक र मुख हुन्छ । नाक र मुख नहुने जीवमा सास फेर्नका लागि विशेष किसिमका अङ्ग हुन्छन् । जस्तै माछामा गिल्स, किरा फट्याङ्ग्रामा ट्राकिया, भ्यागुता, गँड्यौलामा छाला हुन्छ । बिरुवामा नाक, मुख, गिल्स जस्ता कुनै पनि अङ्ग हुँदैनन् । यिनीहरूको सट्टा सास फेर्नका लागि बिरुवाको पातमा ससाना प्वाल हुन्छन् । यिनीहरूलाई स्टोमाटा भनिन्छ । यिनै प्वालको मद्दतले बिरुवाले सास फेर्ने गर्दछ । 

बिरुवाले सास फेर्दा कुन ग्यास लिन्छ र कुन ग्यास छाड्छ ? बिरुवाले सास फेर्दा जनावरको ठिक उल्टो गर्दछ अर्थात् सास फेर्दा कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन छाड्छ भन्ने कुरा गलत हो । त्यस्तो हुँदैन । सबै सजीवमा एकै किसिमले सास क्रिया सञ्चालन हुन्छ । बिरुवाले पनि सास फेर्दा जनावरको जस्तै अक्सिजन लिने र कार्बनडाइअक्साइड छाड्ने गर्दछ ।

बिरुवामा जनावरको भन्दा थप आफ्नो खाना आफैँ बनाउन सक्ने क्षमता पनि छ । बिरुवाले खाना बनाउने यस क्रियालाई प्रकाश संश्लेषण भनिन्छ । यसका लागि बिरुवाले कार्बनडाइअक्साइड लिने र अक्सिजन छाड्ने गर्दछन् । यो क्रिया सूर्यको उपस्थितिमा मात्र हुने हुँदा दिउँसोको समयमा मात्र यो क्रिया हुन्छ तर सास लिने काम भने दिनरात एकनासले सञ्चालन भइरहन्छ । बिरुवामा दिउँसोको समयमा दुवै क्रिया सञ्चालन हुने भए पनि सास फेर्ने कामका लागि आवश्यक हुने अक्सिजनको तुलनामा प्रकाश संश्लेषण क्रियाबाट उत्पन्न हुने अक्सिजनको मात्रा धेरै बढी हुने हुँदा बिरुवाले दिउँसोमा प्रशस्त मात्रामा अक्सिजन छाड्छ तर रातिको समयमा भने बिरुवामा सास प्रश्वास क्रिया मात्र सञ्चालन हुने हुँदा त्यस बखत हावाबाट अक्सिजन लिएर कार्बनडाइअक्साइड छाड्छ । यस प्रकार बिरुवाले पृथ्वीमा अक्सिजन र कार्बनडाइअक्साइडको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । 

मुना 

Author

रामप्रसाद सुवेदी