म्याग्दी समाचारदाता
म्याग्दी, माघ १८ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ । यस क्षेत्रमा सामान्यतया फागुन अन्तिमदेखि वैशाखमा गुराँस फुल्ने गरेको भए पनि यसपालि भने भकिम्लीको सिम क्षेत्रमा गुराँस फुलेको हो । स्थानीय लालबहादुर पुनका अनुसार माघको पहिलो हप्ता नै गुराँस फुलेको देखिन थालेको छ । विगतमा लगभग फागुन अन्तिम सातादेखि मात्रै फूल्ने भए पनि यस पटक भने माघ महिनाको पनि सुरुवातदेखि नै फुल्न थालेको उहाँको भनाइ छ ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले भकिम्लीको केही क्षेत्रमा गुराँस फुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलभरि त होइन, केही बोट फुलेका छन् । सायद पानी नपरी गर्मी चाँडै बढेको भएर पनि यस्तो भएको हुन सक्छ । फाट्टफुट्ट गुराँस फुलेको देखिएको छ ।” अध्यक्ष पुनले भन्नुभयो, “पर्याप्त पानी पर्ने र हिमपात हुने हो भने चैत वैशाखमै फुल्छ तर पानी कम पर्ने र हिमपात भएन भने गुराँस फुल्ने समय अस्वाभाविक रूपमा परिवर्तन हुने गरेको छ ।”
डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार सामान्यतया फागुन, चैतदेखि सुरु भएर कुनै कुनै प्रकारका गुराँस असारसम्म पनि फुल्ने गर्छन् । पछिल्लो समय मौसममा भएको परिवर्तन र तापक्रमको बढोत्तरीले गर्दा पनि गुराँस चाँडो फुल्ने गरेको हुन सक्छ । म्याग्दीको घोडेपानी क्षेत्रमा गुराँसकै जङ्गल भएका कारणले गर्दा त्यस क्षेत्रमा बढी ध्यान जाने भए पनि जिल्लाका अधिकांश क्षेत्रमा गुराँसे जङ्गल रहेको सापकोटा बताउनुहुन्छ ।