• १८ माघ २०८१, शुक्रबार

नवप्रवर्तनबाटै अवसर

blog

नेपालीमा एउटा भनाइ छ– अक्कलबिनाको नक्कल । अहिलेको संसारमा नक्कल गर्ने परिपाटी व्यापकै छ । विकासशील मुलुकमा त यो प्रवृत्ति जस्तै बनेको देख्न सकिन्छ । कसैले कुखुरा पालेर फाइदा लियो भने धेरै जना त्यही कुखुरा पालनमा लाग्ने । कसैले रेस्टुराँ खोलेर फाइदा लियो भने धेरै जना त्यसैतिर लाग्ने । यसलाई अक्कलबिनाको नक्कल भन्न सकिन्छ । बजार अध्ययनबिना नै देखासिकी गर्दै व्यवसायमा हामफाल्नु अक्कलबिनाको नक्कल हुन सक्छ । यस्तो नक्कलले आफ्नो लगानी त डुबाउँछ नै, साथसाथै मुनाफामा चलेका व्यवसायलाई पनि धराशायी बनाउन सक्छ । अक्कल भनेको ज्ञान हो । ज्ञानको निम्ति प्रयत्न गर्नु पर्छ । प्रयत्नले गहिराइमा जान सघाउँछ । प्रयत्ननिम्ति अध्ययन तथा अन्वेषण आवश्यक पर्छ । त्यसरी प्राप्त ज्ञानलाई व्यावहारिक कसीमा घोटेर बजार माग र आवश्यकताका आधारमा गरिने व्यवसायको भविष्य सुनिश्चित हुन्छ । त्यसले व्यापक अवसरको ढोका खोल्छ । नेपाल बाह्य व्यापारको ९० प्रतिशत आयातमा आधारित छ । बाँकी १० प्रतिशत निर्यात छ । नवप्रवर्तनका आधारमा गरिने उद्यमशीलताले आयात प्रतिस्थापन गर्न सक्छ भने निर्यातमा बढोत्तरी गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

नवप्रवर्तनका निम्ति देशीय प्रयास थालिएको छ । यसमा थालिएका प्रयासमा राजनीतिक पार्टीका रूपमा नेपाली कांग्रेसले नवप्रवर्तन र उद्यमशीलता विकास गरी आर्थिक रूपान्तरणका निम्ति राम्रो प्रयास थालेको छ । ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ मार्फत नवप्रवर्तन तथा ससाना व्यवसायमा युवा जनशक्तिलाई प्रोत्साहन गर्न थालिएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा यस्तो सम्मेलन तथा मेलामार्फत नवीन सुअभ्यास थालिएको हो ।  त्यस क्रममा उद्यमशील अभियानमा जीवन व्यतीत गरेका अगुवासँग विमर्श गरियो । आर्थिक रूपान्तरण र युवालाई उद्यमशील अभियानमा जोड्ने यो प्रयास अनुकरणीय छ ।  यसले एकातिर युवा उद्यमी तथा व्यवसायीलाई ज्ञान र अनुभव आदानप्रदान गर्न सहयोग हुने छ भने अर्कातिर नीति निर्माणको तहमा सुझाव लिन सहयोग पुग्ने छ । राजनीतिक दलकै अग्रसरतामा स्टार्टअप र साना तथा मझौला व्यवसाय प्रवर्धनको यस्तो प्रयास सम्भवतः नेपालमै पहिलो हुन सक्छ ।

नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण नेपालका निम्ति अहिले सबैभन्दा प्रमुख कार्यसूची हो । दैनिक दुई/तीन हजार युवा बिदेसिने वर्तमान प्रवृत्तिमा सुधार ल्याउनु जरुरी थियो । यो आवश्यकता पूरा गर्न सरकारले नीतिगत र कानुनी सुधारका निम्ति हालै केही अध्यादेशसमेत ल्याएको छ । यो सम्मेलनमा आर्थिक रूपान्तरणका लागि सरकारले गर्नुपर्ने काम र उद्यमीले गरिरहेका प्रयासका सन्दर्भमा विज्ञसँग बहससमेत भयो । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आयोजना गरेको सम्मेलनमा झन्डै आठ हजार अवलोकनकर्ता युवा तथा व्यवसायीको सहभागिता थियो । विज्ञहरूले नीतिनिर्माणका निम्ति आवश्यक पृष्ठपोषणमा पनि सम्मेलन उपयोगी देखिएको छ । नेपालमै रोजगारीका अवसर सिर्जना गर्न यस्ता कार्यले नवीन उत्साह थप्ने छ ।

सम्मेलनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ससानो लगानीले देशभित्रै अवसर सिर्जना गर्न सम्मेलन उपयोगी हुने भनाइ राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अर्थविद् एवं केन्द्रीय बैङ्कका पूर्वगभर्नर चिरञ्जीवी नेपाललगायतले गहन सुझाव दिएर सम्मेलनमा उत्साह भर्नुभयो । नवप्रवर्तन र उद्यमशीलतामा प्राप्त ज्ञानलाई प्रतिवेदनका रूपमा तयार गरिने बताइएको छ । यसबाट सरकारलाई सुझाव गरिने, पुस्तक र पुस्तिका पनि तयार गरिने लक्ष्य राम्रो हो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभए झैँ स्टार्टअप र उद्यमशीलताको क्षेत्रमा युवाको आकर्षण वृद्धि भइरहनु स्वदेशभित्रै अवसर सिर्जनाका निम्ति महत्वपूर्ण आधार पनि हो । सरकारले चालु आर्थिक वर्षमा नवप्रवर्तक व्यवसायीलाई प्रोत्साहन गर्नकै निम्ति एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । सो अनुसार सम्बद्ध निकायले नवप्रवर्तक तथा व्यवसायी छनोट कार्य गरिरहेको छ । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले गाउँको विकास नै समग्र देशको विकास हो भन्ने मान्यता अगाडि सार्दै साना तथा मझौला व्यवसायमा जोड दिनुभएको थियो । कृषिसित आबद्ध उद्यम तथा व्यवसाय गाउँ गाउँमा फस्टाउन सके सुनसान हुँदै गएका गाउँमा फेरि नयाँ आकर्षण बढ्न सक्ने छ । अक्कललाई बलियो बनाउन गरिने यस्ता सम्मेलनका साथै तालिम, प्रशिक्षण, पुँजी र उत्पादनका साधनमा युवा पहुँच हुन सके देशभित्रै आर्थिक समृद्धिका आधार खडा हुने छन् । मातृभूमि छोडेर बिदेसिनुपर्ने बाध्यता बिस्तारै हट्दै जाने सुनिश्चित छ ।