• १८ माघ २०८१, शुक्रबार

कार्यव्यवस्था परामर्श समितिको बैठक

blog

बागमती प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकका सहभागी ।

मकवानपुर समाचारदाता

हेटौँडा, माघ १८ गते । बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशनमा सत्तापक्ष र विपक्षबिच रस्साकस्सी हुने देखिएको छ । विधेयक अधिवेशनका रूपमा रहेको पन्ध्रौँ अधिवेशनमा बजेट, प्रदेश सरकारको कार्यसम्पादनलगायतका विषयमा सत्तापक्ष र विपक्षबिच रस्साकस्सी हुने सङ्केत देखिएको हो ।

प्रदेश सभाको अधिवेशन शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाको अधिवेशनको पहिलो दिनको कार्यसूची तय गर्न शुक्रबार प्रदेश सभा सचिवालयमा बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिवेशनको सफलताका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले शुभकामना मात्र दिने गरी सहमति भएको छ । 

समितिका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभाको पहिलो दिनको बैठकमा अधिवेशनको सफलताका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले शुभकामना दिने गरी सहमति भएको जानकारी दिनुभयो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताले शुभकामना दिएर पहिलो दिनको बैठक सम्पन्न गर्ने र आगामी बैठकको कार्यसूची पछि तय गरिने छ । उहाँका अनुसार पहिलो दिनको बैठकमा विधेयक पेस हुने छैन । 

सहमति कार्यान्वयन नभए अवरोध

प्रमुख विपक्षी दल माओवादी केन्द्रले विगतको बजेट सम्बन्धमा भएका सहमति कार्यान्वयन नभएमा प्रदेश सभा बैठक अवरोध गर्ने रणनीति बनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक ढकालले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा सरकारसँग भएको सहमति कार्यान्वयन नगरेको बताउँदै सरकारले प्रतिबद्धता अनुसार कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “प्रदेश सभाका सदस्यले बजेट थप गर्न गरेको सिफारिस अनुसार बजेट थप हुनु पर्छ, बजेट कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरमा गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन हुनु पर्छ,” उहाँले भन्नुभयो, “सहमति कार्यान्वयन नभएमा प्रदेश सभाको बैठकमा विधेयक पेस गर्न दिने छैनौँ ।”