काठमाडौँ, माघ १७ गते । १९९७ सालको राणाशाहीको अन्त्य-अन्त्यतिर अथवा राणा शासनले आफ्नो अन्त्यको एक प्रकारले घोषणापत्र जारी गरेको दिन हो । त्यो निरकुंश हत्याकाण्ड, जसमा देशका होनाहार सपुतहरू, जसले स्वतन्त्रता खोजेका थिए, लोकतन्त्र खोजेका थिए, अधिकार खोजेका थिए र न्याय खोजेका थिए । तिनलाई मारियो । कसैलाई गोली हानेर, कसैलाई झुण्ड्याएर १९९७ साल माघ १० गतेदेखि १६ बिहानको रातिसम्म हत्याका शृङ्खला चलाइए । त्यही दिनको सन्दर्भमा, त्यही दिवसलाई लिएर सहिदको सम्झना गर्न, उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र सम्मान प्रकट गर्दै आएका छौँ ।
आज देशले जे पाएको छ, त्यो सहिदका बलिदानका कारणले पाएको हो । यस घडीमा म सम्पूर्ण ज्ञात अज्ञात सहिदहरू, जसले एकीकरणका लागि ज्यान दिनुभयो, जसले राष्ट्र बचाउनका लागि ज्यान दिनुुभयो, जसले लोकतन्त्रका लागि ज्यान दिनुभयो, जसले अधिकार प्राप्तिका लागि ज्यान दिनुभयो, सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छुु र श्रद्धासुमन अर्पण गर्न चाहन्छु । देशवासीको तर्फबाट आदरणीय अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
आज हामी जहाँ छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, यस प्रणालीमा सर्वोपरी कुरा हो-लोकतन्त्र हो । गणतन्त्र भनेको लोकतन्त्रको एउटा अङ्ग हो, एउटा स्वरूप हो । सङ्घीयता लोकतन्त्रको, लोकतान्त्रिक प्रक्रिया र संरचनाको एउटा अङ्ग हो । लोकतन्त्र आधारभूत कुरा हो । वास्तविक र पूर्ण लोकतन्त्र हुनका लागि जनताको सर्वोच्चता आवश्यक छ । वास्तवमा जनता सर्वोच्च छन् । जनता सार्वभौमसत्ता सम्पन्न छन्, जनताबाट राज्य शक्तिको स्रोत निश्रित हुन्छ, उत्पन्न हुन्छ भने जनताले कतिपय ठाउँमा प्रत्यक्ष वा आमरुपमा÷परोक्ष रूपमा आफ्ना प्रतिनिधिहरूमार्फत शासन सञ्चालन गर्दछन् । त्यसलाई लोकतन्त्र भनिन्छ ।
त्यसो गर्दा लोकतन्त्र साँच्चै जनताको सार्वभौमसत्ता भएको र सर्वोच्चता भएको अवस्था हो । त्यस्तो ठाउँमा स्वाभाविक रूपमा गणतन्त्र हुनु अनिवार्य र अपरिहार्य हुन्छ । कतिपय ठाउँमा विभिन्न कालखण्डमा विभिन्न प्रकारका सम्झौताहरूले राजतन्त्रलाई विभिन्न मात्रामा राखेको अथवा बलजफ्ती राखेको हुनसक्छ । अहिले पनि कतिपय देशहरूमा राजतन्त्र बलजफ्ती पनि शासनमा होला । कतिपय ठाउँमा सम्झौताद्वारा पनि शासनमा होला । तर त्यस्तो राजतन्त्रले पनि आफू संवैधानिक वा ‘सेरोमोनियल’ भएर बस्न मञ्जुर गरेको हुन्छ । र, जनताको सार्वभौमसत्ता र सर्वोच्चतालाई स्वीकार गरेको हुन्छ ।
अर्थात्, लोकतन्त्र भनेको जनताको सार्वभौमसत्ता, जनतामा सार्वभौमसत्ता निहीत रहेको प्रणाली हो, जनताको सर्वोच्चता कायम रहेको प्रणाली हो र सम्पूर्ण शक्तिका स्रोत जनता हुन् भन्ने मान्यतालाई स्वीकारेको र तद्नुसार सञ्चालित प्रणाली हो । अरु संरचनागत प्रणाली सहजताका लागि, जनतालाई सेवासुविधा उपलब्ध गराउन सजिलोका लागि र विकासका कामहरूलाई छिटोछरितो बनाउनका लागि प्रयोग गरिने अथवा व्यवस्था गरिने कुरा हुन् । आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ र यस परिस्थितिमा हामीले ठुलो उपलब्धि हासिल गरेका हौँ र ठुलो प्राप्ति गरेका हौँ । यस ठाउँमा ल्याइ पुर्याउन हाम्रा महान् सहिदहरूको बलिदानको धेरै ठुलो महत्त्व छ । अनेक वीरहरू, विरङ्गनाहरू, योद्धाहरू जन्मिए, कति घाइते भए, कतिले जेल यातना सहे, कतिले कठोर निर्वासन सहे, कतिले भूमिगत अवस्थामा काम गरेर ज्यान जोखिममा राखेर चले, कोही सडकमा उत्रिए, कसैले सडकमा उत्रिनेहरूलाई बल दिए । सहिदहरूको बलिदानको प्रेरणाबाट सौर्य प्राप्त हुन्छ र परिवर्तनको एउटा विश्वास जागृत हुन्छ । त्यही विश्वासबाट देश यसरी अगाडि बढेको छ ।
हामीसँग थुप्रै ज्ञान-अज्ञात सहिदहरू हुनुहुन्छ तर हामीले जानकारी पाएका सहिदमध्ये राणाशासन १८०३ सालमा स्थापना भएपछि १८०६ सालमा बलबहादुर शाह (बाकावीर)लाई हत्या गरेर राणा शासनले आफ्नो हत्याको क्रुरताको सिलसिला प्रारम्भ गरेको थियो-आफ्नो सत्ताका लागि । बलवीर शाह बाकावीर, जो अछामका हुनुहुन्थ्यो,उहाँले राणाशासन स्थापनाकालदेखि नै त्यसका विरुद्ध आह्वान गर्नुभयो, जनता सङ्गठित भएर लड्नु पर्दछ र राणाशाहीलाई धपाउनु पर्दछ भन्ने उहाँको मान्यता थियो । त्यसै सन्दर्भमा उहाँलाई छलपूर्ण र धोकापूर्ण ढङ्गले १८०६ सालमा गिरफ्तार गरेर, जसले उनको टाउको ल्याउँछ, त्यसलाई इमान दिइनेछ भनेर इस्तियार जारी गरे । उहाँलाई गिरफ्तार गरेर, काटेर उनको टाउको झोलामा हालेर ल्याएर राणाका अगाडि टेबलमा राखेर इनाम थाप्नेहरू पनि छन् । यस्ता तत्वहरू पनि देशमा पाइन्छन् ।
त्यस्ता तत्वहरू अहिले पाइन्छन् कि पाइँदैनन् नभनौं, अहिले त्यस्ता दृष्टान्त देखिएको छैन तर छनकहरू राम्रा छैनन् । जे होस्, त्यहाँबाट सुरु भएको बलिदानको सिलसिला १८३३ सालमा लखन थापाको हत्याबाट, त्यसपछि अनेक पछिल्ला सिलसिला हुँदै आए र त्यही सिलसिलामा कतिले आफूलाई कठोर जलसमाधि सामूहिकरूपमा लिएका विष्मयकारी घटनाहरू, आफैँले जलसमाधि लिने कठोर निर्णय गरेर राणाशासनका विरुद्धको विद्रोहको एक प्रकारको शान्तिपूर्ण र त्यागको शङ्खघोष गरेका थिए । लेखक-कविहरू होउन् लाइब्रेरी खोल्दा मुद्दा लाग्थ्यो, पक्राउ पर्नुपर्दथ्यो र जेल जानुपर्दथ्यो । कवि सिद्धिचरण श्रेष्ठलाई राणाशासनमा १८ वर्षको कैद सजाय सुनाइएको थियो, पछि उनलाई सात वर्ष जति जेल राखेर छोडिएको थियो ।
कवि सिद्धिचरण श्रेष्ठ, जसलाई हामी युगकवि भन्छौँ, किनभने उहाँले युगको आवाजलाई मुखरित गर्ने गर्नुहुन्थ्यो । साहित्यकारहरू गोपालप्रसाद रिमालजस्ता अरू थुप्रै र अनेक योद्धाहरूको योगदान पनि महत्त्वपूर्ण छ । वि.सं.१९९७ मा आएपछि हामी चार जनाको कुरा गरिराखेका छौँ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ । एकै पटक चार जनालाई राणा प्रधानमन्त्रीको दरबारको पटाङ्गिनीमा बोलाएर लाइनमा उभ्याएर पहिलो फैसला सुनाइएको थियो, शास्त्रीजीलाई । उहाँ त्यस्तो सक्रिय राजनीतिमा भन्दा पनि धार्मिक ग्रन्थहरूको वाचन गरेर एउटा जनजागरण ल्याउने, जनचेतना जगाउने, मानिसलाई शिक्षित बनाउने, धार्मिक प्रवृत्ति र धार्मिकवाद समाजमा बढाउने अभियानमा लाग्नुभएको मानिस हुनुहुन्थ्यो ।
शास्त्रमा कहिलेकाहीँ अत्याचारी राजाहरू समाप्त हुन्छन् भन्ने लेखिएको हुन्थ्यो । त्यो कुरा शास्त्रीले भन्नुहुन्थ्यो, अत्याचारी शासकहरूको अन्त्य हुन्छ । यसो भएर त्यस्ता राजाहरू समाप्त हुन्छन्, जो अत्याचारी छन्, जनविरोधी छन्, जनताका दुःख, पिर र मर्काको वास्ता गर्दैनन् भन्ने कुरा शास्त्रमै वर्णित छ र त्यही शास्त्रका कुराहरू उहाँले विभिन्न शास्त्रमा वर्णित भएका कुराहरू सुनाउनुहुन्थ्यो । त्यसबापत उहाँलाई गिरफ्तार गरिएको थियो, १९९३ सालमा । प्रजापरिषद्सँग उहाँको सम्बन्ध होइन । प्रजापरिषद्को नेता, कार्यकर्ता भएको हुनाले उहाँलाई गिरफ्तार गरेको होइन । उहाँलाई अत्याचारी शासकहरू समाप्त हुन्छन् भनेको हुनाले गिरफ्तार गरिएको थियो । अरूले भने विद्रोह छेड्नुभएको थियो ।
गङ्गालालले त्रिचन्द्र क्याम्पसको विद्यार्थी हुँदा १९९४ सालमै पहिलो पटक मानवअधिकार सङ्गठनको स्थापना गर्नुभएको थियो । यद्यपि उहाँको उमेर त्यतिबेला थोरै नै थियो, १९ वर्ष । १९९५ सालमा उहाँले मानवअधिकारसम्बन्धी नेपालमै पहिलो वक्तव्य र मन्तव्य दिनुभएको थियो । मानवअधिकार किन आवश्यक छ, यो के हो र कसरी मानवअधिकारको प्राप्ति, रक्षा गर्नुपर्दछ र हामी कसरी अगाडि बढ्नुपर्छ भनेर उहाँले भाषण गर्नुभएको थियो । नेपालको राजनीतिक सत्ताविरोधी सङ्गठित भाषण उहाँले १९९७ मङ्सिर १३ गते इन्द्रचोकमा गर्नुभएको थियो । गङ्गालाल र गणेशमान श्रेष्ठ सिंहले एकैदिन शोभाभगवतीमा आफ्नै रगत अलिकति निकालेर त्यसमा छोएर, कसम खाएर प्रजापरिषद्को सदस्यता लिनुभएको थियो ।
उहाँहरूले सदस्यता एकैदिन लिनुभएको थियो । पछि दशरथ चन्दका काका हजुरबुबाहरू समेत राणाशासनसँगको टकरावको कारणले राणाशासन आएपछि धेरै वर्षसम्म पिथौरागढमा गएर आश्रय लिएर बस्नुपरेको थियो । राणाहरूसँग १३ वर्षपछि सम्झौता गरी उहाँहरू बल्ल फर्किनुभएको थियो । उहाँ एउटा राजनीतिक परिवारमा जन्मिनुभएको थियो । धर्मभक्त माथेमा, उहाँ राजा त्रिभुवनको कुस्ती गुरु वा खेल गुरु हुनुुहुन्थ्यो । उहाँ एउटा बडीविल्डर जस्तो हुनुहुन्थ्यो र उहाँ एउटा पहलमान जस्तो व्यक्ति हुनुहुन्थ्यो । उहाँले त्रिभुवनलाई कुस्ती मात्रै, शारीरिक व्यायाम मात्रै सिकाउनुहुन्नथ्यो कि राणा शासकलाई कसरी धोवीपाठ लगाएर पछार्ने भन्ने पनि सिकाउनु हुन्थ्यो । अरू राजनीति पनि उहाँले सिकाउनुहुन्थ्यो ।
यसरी गङ्गालाल एउटा अत्यन्तै तेजवान्, गतिवान् र ‘ब्राइट’ युवा हुनुहुन्थ्यो । उहाँ बुझेको, खुलेको र खासमा आफैँ नयाँ नयाँ आइडियाहरू निकाल्ने, सङ्गठनलाई गतिशील बनाउने र टंकप्रसाद आचार्यले १९९७ साल जेठ दोस्रो साता ड्राफ्ट गरेका पर्चाहरू वितरण गर्ने काम गंगालाल श्रेष्ठको थियो, गणेशमान श्रेष्ठको थियो । पछि उहाँहरू गिरफ्तार भएपछि टंकप्रसाद आचार्य, प्रजापरिषद्का संस्थापक रामहरि शर्मा, चूडाराजलगायतका नेताहरू समेतलाई सजाय भएको थियो । उहाँहरूलाई पनि लाइनमा उभ्याएर सजाय सुनाइएको थियो । पहिलो सजाय सुनाएको थियो–शुक्रराज शास्त्रीलाई, जसको नाम बोलाइन्थ्यो, उसले एक कदम अगाडि बढ्नुपर्दथ्यो र अगाडि बढेर म यहाँ हाजिर छुु भनेर भन्नुपर्दथ्यो ।
अनि सजाय सुनाइन्थ्यो र सजाय सुनेपछि पहिलेकै लाइनमा उभिनुपर्दथ्यो । शुक्रराज शास्त्रीको नाम राणा प्रधानमन्त्रीले लिएपछि एक कदम अगाडि बढेर उहाँ सजाय सुन्न तयार हुनुभयो । शुक्रराज शास्त्रीलाई फाँसीको सजाय दिइएको छ भनेपछि उहाँले शान्तभावमा ‘ॐ शान्ति’ भन्नुभयो र एककदम पछाडि सरेर फेरि पहिलेकै लाइनमा उभिनुभयो । उहाँ आश्चर्यचकित हुनुुभयो कि के कसुरमा शास्त्र वाचन गरेबापत् फाँसीको सजाय ! त्यसपछि दशरथ चन्दलाई सुनाइयो, जो पुस्तौनी क्रान्तिकारी हुनुहुन्थ्यो ।
यसैगरी धर्मभक्तलाई सुनाइयो, जो राजा त्रिभुवनका गुुरु र प्रशिक्षक हुनुहुन्थ्यो र गङ्गालाललाई मृत्युदण्ड भनेर सुनाइयो । यसरी १० गते दुई जना र १५ गते राति अथवा १६ गते बिहान दुई बजेतिर अरू दुई जनालाई हत्या गरिएको थियो । दुई जनालाई झुण्ड्याएर र दुई जनालाई गोली ठोकेर हत्या गरिएको थियो । यही सम्झनामा सहिद दिवस मनाइरहेका छौँ । त्यसपछि सहिद दिवस मनाउने सिलसिला अगाडि बढ्दै गयो । २००७ सालका आन्दोलनमा मानिसहरू सहिद भए । त्यसपछि विभिन्न समयमा विभिन्न कारणले धेरैले सहादत प्राप्त गरे । पञ्चायती तानाशाही लागेपछि झन् धेरै मान्छेले सहादत प्राप्त गर्नुपर्यो ।
नियन्त्रणमा लिएर ज्यान मारिएको मात्रै होइन, अगाडिदेखि जेलमा हालिएका मान्छेलाई जेलबाट निकालेर नेल हत्कडी लगाएर जङ्गलमा लगेर गोली हानेर मारियो र जेल सार्न खोज्दा भागे भन्ने आरोप लगाइयो । झापामा पाँच जनालाई त्यसरी हत्या गरियो । त्यसमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई एकैचोटी निकालेर हत्या गरियो । नेपालमा यति ठुलो सङ्ख्यामा पहिले नै गिरफ्तार गरेर जेलमा राखेका मान्छेहरूलाई हत्या गर्नेसम्मका जघन्य अपराधका घटनाहरु पञ्चायतकालमा घटे । पञ्चायत नामको तानाशाही निरङ्कुश व्यवस्था र निरङ्कुश राजतन्त्रलाई जोगाउनका लागि यी सबै कामहरू भएका थिए ।
त्यसैगरी २०३१ सालको ठ्याक्कै दशैँको मुखमा ओखलढुङ्गामा गिरफ्तार गरेर ल्याइएका चार युवाहरू लीलानाथ दाहाल, ठगीराज दाहाल, गोकर्णबहादुर कार्की र खगेन्द्रराज दाहाललाई एकैचोटी जेलबाट ल्याएर जावलाखेलबाट नख्खुतिर जाने जुन ओरालो बाटो छ, त्यसको अलिकति तलतिरपट्टी शिवदेवीको खेतमा लगेर गोली हानी मारियो । रातको ९-१० बजेको थियो, त्यतिबेला आसपासका मान्छेहरू ड्याङड्याङ गोली पड्किँदा छक्क परे । हरेकलाई दुई÷चार गोलीका दरले हानिएको थियो र ठाउँको ठाउँ मारिएको थियो । सेन्ट्रल जेल सार्न खोज्दा भागे, त्यो उकालो चढ्दै गर्दा मान्छे भागे भन्ने आरोप लगाएर मारे । हत्कडी लगाएर लगेका मान्छेहरू कहीँ भाग्छन् ? तर, त्यस आरोपमा चार जनालाई मारियो ।
यसैगरी २०३० चैतमा धनकुटाका भीमनारायण श्रेष्ठ विराटनगरमा पक्राउ पर्नुभएको थियो । क्याप्टेन यज्ञबहादुर थापा, जसलाई ओखलढुङ्गाबाट राम-लक्ष्मणसँगै गिरफ्तार गरिएको थियो । राम–लक्ष्मणलाई ओखलढुङ्गामै हत्या गरिएको थियो र थापालाई काठमाडौँ ल्याइएको थियो । सेन्ट्रल जेलमा हामीसँगै थियौँ । श्रेष्ठ र क्याप्टेन थापासमेत सँगै थियौँ । तत्कालीन सरकारले हाम्रै अगाडिबाट राति उहाँहरूलाई तानेर लगेर एउटालाई हेटौँडाको जङ्गलमा र एउटालाई कमलाको जङ्गलमा गोली हानेर हत्या गर्यो ।
सहिदहरूको सिलसिला धेरै छ, नाम याद गरेर साध्य छैन । जेलबाट निकालेर गोपाल गुरागाइँलाई २०१८ सालमा हत्या गरेको थियो । २०१८ सालमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताहरूको हत्या भएको थियो । भारत प्रवासमा गएकाहरूलाई यहाँबाट गोली हान्ने जत्था पठाएर त्यहाँ षडयन्त्रपूर्वक गोली हानिएको थियो । यो सिलसिला जारी थियो । यो सिलसिला अब अन्त्य भएको छ । ‘डेमोक्रेसी’ले यो सिलसिलालाई अन्त्य गरेको छ । यसबिचमा डेमोक्रेसीभित्र पनि केही विकृतिहरू र केही डेमोक्रेसीलाई बुझ्ने कुराको कमीहरू रहे । त्यसले केही नहुनुुपर्ने कामहरू भए । तर, त्यसबाट लोकतान्त्रिक प्रणाली र त्यसका सञ्चालकहरूमा स्वतः आफैँ पनि र जनताको आलोचनाबाट पनि एउटा शिक्षा प्रदान भएको छ र त्यसलाई सबैले मनन् गरेका छन् ।
अब जनताको त्यस प्रकारले षड्यन्त्रपूर्ण ढङ्गले ज्यान जाने अथवा क्रुरताका साथ हत्या गरिने, शासन सत्ताका लागि हत्या गरिने त्यस्तो सिलसिला रहेको छैन । तानाशाही शासन सत्तालाई बचाउनका लागि हत्या गर्ने प्रचलन अन्त्य भएको छ । अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौँ । यतिबेला हामी नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त नेपाल, भ्रष्टाचारमुक्त नेपाल, विकासको बाटोमा अगाडि बढेर समृद्धि हासिल गर्न सङ्कल्पित रहेका छौँ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएको नेपालको गन्तव्यतर्फ हामी अगाडि बढिरहेका छौँ ।
लोकतान्त्रिक प्रणालीको रक्षाका लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रियाअन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानुनीराजको हिसाबले लिएर जानका लागि, कानुनलाई न्यायोचित कानुनको रूपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरू छन् भने वा संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा परिवर्तनभागी देखियो, परिवर्तन गर्न आवश्यकता देखियो भने त्यसलाई यथोचित संवादबाट सबैलाई सहमत गराउने प्रयासका साथ संशोधन गर्ने कुरामा पनि वर्तमान सरकार प्रतिबद्ध छ ।
यो लोकतान्त्रिक सरकार हो । यसको आचरण लोकतान्त्रिक हुनेछ । सरकारले लोकतान्त्रिक प्रक्रियालाई इमानदारिताका साथ मनन गर्नेछ । यो देशभक्त सरकार हो । राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा हामीलाई सहिदले सिकाएको कुरा हो । बलिदानबाट प्राप्त गरेको प्रणाली र शिक्षालाई कदापि छोड्न सक्दैनौँ । नेपाल राष्ट्र र नेपाली जनतामा कुनै प्रकारको दुुःख नहोस्, अशान्ति, भय त्रासमा कोही पनि बस्न नपरोस्, सबै शान्तिपूर्ण र निर्भय वातावरणमा बस्न सकून् भन्ने पक्षमा सरकार छ ।
हामीले लोकतन्त्र ल्याएका छौँ । लोकतन्त्र भनेको ‘एनार्किजम’ होइन । लोकतन्त्र भनेको एउटा विकसित, व्यवस्थित, सभ्य, सुशासनयुक्त प्रणाली हो । त्यसलाई त्यसैरूपमा राख्नुपर्दछ । यदि व्यवस्थामा कहीँ कतै परिमार्जन र परिवर्तन गर्नुछ भने वा शासन सञ्चालकहरुमा परिवर्तन, परिमार्जन, हेरफेर केही गर्नुछ भने लोकतान्त्रिक प्रक्रिया र विधिबाट यस प्रणालीको रक्षा गर्न सकिन्छ । लोकतन्त्रका नाममा अराजकता, जनतालाई विभाजित गर्नेजस्ता कुराहरू, अनेक प्रकारका साम्प्रदायिक विद्वेष फैलाउने कुराहरू, देशलाई एकताबद्ध हुन नदिने खालका प्रयासहरू कुनै कुराहरू पनि स्वीकार्य हुने छैनन् ।
विकासका काममा, शान्ति सुव्यवस्थाका काममा, राष्ट्रिय एकता निर्माण गर्ने कुरामा र एकताबद्ध राष्ट्र विकासको अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले जनतालाई नेतृत्व दिनेछ । कानुनी हिसाबले, नीतिगत हिसाबले र व्यावहारिक हिसाबले अहिलेको सरकारले नेतृत्व गर्नेछ । तसर्थ, यस घडीमा म जनताप्रति उत्तरदायी लोकतान्त्रिक जननिर्वाचित सरकारको हिसाबले भन्न चाहन्छु कि जनताले जसरी विश्वास गरेर उत्तरदायित्व सुम्पिएका छन्, तद्अनुसार नै अहिलेको सरकारले देशलाई विकासको बाटोमा, सुशासनको बाटोमा अगाडि बढाउनेछ, भ्रष्टाचारमुक्त देशको बाटोमा अगाडि बढाउनेछ ।
म फेरि एक पटक जसले राष्ट्रियताको प्रश्नमा होस्, लोकतन्त्रको प्रश्नमा होस्, स्वाधीनताको प्रश्नमा होस्, देश निर्माणको पक्षमा होस् अथवा देशको एकता÷एकीकरणलाई बचाउने वा भूमि बचाउने हरेक सन्दर्भमा आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूप्रति नेपाली जनताको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । हामी सहिदको मार्गमा अटल र अविचलित ढङ्गले अगाडि बढिरहने छौँ । सहिदले देखाउनुुभएको बाटोमा अगाडि बढ्नेछौँ । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सहिद दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश) रासस