• १८ माघ २०८१, शुक्रबार

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

blog

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, माघ १७ गते । तातोपानी नाकाबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । प्राकृतिक प्रकोप र नीतिगत अवरोधका कारण चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ८६.८३ प्रतिशत राजस्व सङ्कलन भएको हो । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले चालु आवको छ महिनामा १० अर्ब ५१ करोड ५६ लाख ७७ हजार लक्ष्य रहेकामा नौ अर्ब १३ करोड छ लाख ७८ हजार ९२९ रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । लक्ष्यभन्दा एक अर्ब ३८ करोड ४९ लाख ९८ हजार ७१ रुपियाँ कम राजस्व सङ्कलन भएको छ । गत आवको राजस्व सङ्कलन लक्ष्यको तुलनामा १५८.०५ प्रतिशत भएकामा यस वर्षको अर्धवार्षिक राजस्व नकारात्मक देखिएको छ । 

आव २०८१/८२ को कुल राजस्व सङ्कलन २१ अर्ब ७३ करोड ५६ लाख ५२ हजार लक्ष्य छ । चालु आवको अर्धवार्षिक राजस्व सङ्कलनमा २० प्रकारका मुख्य मालवस्तु आयातबाट भएको छ । सबैभन्दा बढी विद्युतीय सवारीसाधनको आयातबाट राजस्व सङ्कलन भएको छ । सवारीसाधन र त्यसका पार्टपुर्जाबाट दुई अर्ब ८५ करोड ८५ लाख ९० हजार ७९२ रुपियाँ सङ्कलन भएको छ । मूल्यका हिसाबले पाँच अर्ब १९ करोड ५५ लाख ७८ हजार २५५ रुपियाँको सवारीसाधन र पार्टपुर्जा आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

तयारी कपडा आयातबाट एक अर्ब ६० करोड ७६ हजार २८२ रुपियाँ सङ्कलन भएको छ । चार अर्ब ४७ करोड ९९ लाख ९९ हजार ५९३ रुपियाँ मूल्य बराबरको तयारी कपडा आयात भएको छ । त्यस्तै लसुनबाट ७३ करोड १५ लाख ८० हजार ७६० रुपियाँ सङ्कलन भएको छ । तातोपानी नाकाबाट दुई अर्ब ४२ करोड २३ लाख ७४ हजार ९७३ मूल्य बराबरको लसुन आयात भएको छ । 

आयात हुने अन्य वस्तुमा जुत्ता तथा चप्पल, इलेक्ट्रिक मेसिनरी तथा त्यसका पार्टपुर्जा, फलफूल, ड्राइफुड, होजियारी कपडा, प्लास्टिकका सामान, सुती कपडा, सेन्थेटिक कपडा, मेसिनरी तथा पाटपुर्जा, बिजुलीका सामान र बत्ती, जुत्ता तथा चप्पलको पार्ट्स, खेलौना तथा फलामका सामग्रीलगायत छन् ।