गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १७ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ परिमार्जनसहित पारित गरेको छ । छलफलका क्रममा सहमतिको आधारमा तयार भएको विधेयकको मसौदा मङ्गलबारको बैठकमा प्रस्तुत गरिएकोमा समितिले परिमार्जन गर्दै पारित गरेको हो । समितिका सचिव मनोजकुमार गिरीले मूल विधेयकमा परेको संशोधनमाथि समितिले छलफल टुङ्ग्याउँदै परिमार्जनसहित पारित गरेको र माघ २० गते राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेस गर्ने जानकारी दिनुभयो ।
तिलगङ्गा नेत्र विश्वविद्यालय प्राज्ञिक र प्रशासनिक स्वायत्तता भएको सम्बन्धन नदिने विश्वविद्यालय हुने छ । राष्ट्रिय सभा नियमावलीबमोजिम समितिले माघ २० गतेभित्र सभामा प्रतिवेदन पेस गरिसक्नुपर्ने बाध्यता छ ।
समितिका सचिव गिरीले उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन हुने र समितिले गरेको सिफारिसको आधारमा संरक्षक परिषद्ले दुई जना उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था गरिएको बताउनुभयो । समितिले संरक्षक परिषद्का अध्यक्षसँगै दुई जना उपाध्यक्ष पदमा पनि नेपाली नागरिक नै हुनुपर्ने अनिवार्य गरेको छ । यसअघि अध्यक्ष पदमा मात्रै नेपाली नागरिक भए पुग्ने आशयको प्रस्ताव गरिएको थियो ।
दफावार छलफलका क्रममा कानुनसँग बाझिएको संस्थाको विघटनसम्बन्धी व्यवस्थामा समितिले प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ऐन प्रारम्भ भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाज विघटन हुने नेपाल आँखा कार्यक्रम संरक्षक परिषद्का सदस्यको सिफारिसपछि स्वतः विघटन हुने व्यवस्था गरिएको छ । मन्त्रालयले सो प्रयोजनका लागि संस्था दर्ताको अभिलेखबाट हटाउन आवश्यक कार्य गर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।