• १७ माघ २०८१, बिहिबार

नवप्रवर्तनका लागि नेपालमै अवसर

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, माघ १७ गते । नेपाली कांग्रेसले नवप्रवर्तन र उद्यमशीलताको विकास गरी आर्थिक रूपान्तरणका लागि ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ मार्फत नवीन अभ्यास आरम्भ गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयमा उद्यमशील अभियानमा जीवन व्यतीत गरेका अगुवासँग विमर्श गरी बुधबार सम्मेलन सुरु भएको हो । आर्थिक रूपान्तरण र युवालाई उद्यमशील अभियानमा जोड्न र नीति निर्माणको तहमा सुझाव लिन राजनीतिक दलकै अग्रसरतामा स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा बहसको आयोजना गरिएको हो । 

सम्मेलनमा आर्थिक रूपान्तरणका लागि सरकारले गर्नुपर्ने काम र उद्यमीले गरिरहेका प्रयासका सन्दर्भमा विज्ञसँग बहस हुँदै छ । नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण, सरकारले आर्थिक सुधार गर्ने उद्देश्यका साथ ल्याएको अध्यादेशसहित युवा उद्यमीका सरोकारका विषयमा सामूहिक विमर्श भएको छ । 

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना गरेको सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । 

नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरणलगायतका छ वटा विषयमा छलफल हुने छ । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रचारप्रसार एवं बिक्रीमा वृद्धि गर्ने लक्ष्य राखिएको छ । 

‘उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’

पूर्वप्रधानमन्त्री देउवाले स्टार्टअप र उद्यमशीलताको क्षेत्रमा युवाको आकर्षण वृद्धि भइरहेको बताउनुभयो । उहाँले युवापुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सिप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।”

उहाँले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिए रोजगारीमा क्रान्ति ल्याउन सकिने दाबी गर्नुभयो । उहाँले गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भर बन्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो, “बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिन सके मुलुकको आर्थिक अवस्था उकास्न ठुलो टेवा पुग्न सक्छ ।”

सभापति देउवाले राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र विश्वबजारसँग देशको निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको देखिएको बताउनुभयो । उहाँले त्यसैले अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही अवस्थालाई दृष्टिगत गरी स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएका हौँ ।”

उहाँले उद्यमी, व्यापारी, व्यवसायीले भोग्नु परेका कानुनी तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न सरकारले कानुन ल्याएको र यो कानुनले सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले मुलुकको समुन्नतिका लागि सूचना प्रविधि क्षेत्रमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभागका संयोजक उर्मिला थपलियाले डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका सम्मेलनले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

‘राज्यको सहयोग चाहिन्छ’

सामूहिक छलफलका सहभागीले स्टार्टअप र साना तथा मझौला व्यवसाय प्रवर्धन गर्न सरकारको सहयोग चाहिने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले स्टार्टअप र उद्यमशीलता प्रवर्धन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सहुलियत कर्जा बढाउनुपर्ने र कर्जा प्रवाह बढाउनुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउनुभयो । उहाँले संसद्बाट अध्यादेश पारित भए अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभयो । नबिल बैङ्कका सिनियर डिसिओ मनोज ज्ञवालीले स्टार्टअपहरूले सरकारी स्रोत खोजेर काम अघि बढाउनुपर्ने बताउनुभयो । गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणाले युवालाई सिप, तालिम प्रदान गरेर अब्बल बनाउनुपर्ने बताउनुभयो । 

नास आइटीका उपाध्यक्ष गौरव पाण्डेले आइटी क्षेत्रमा एक लाख युवा आबद्ध भएको, अबको १० वर्षमा चार लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब रुपियाँ विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । 

‘युवालाई प्रोत्साहित गर्नु पर्छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण रहेको र यसले आर्थिकलाई सुधार गर्ने बताउनुभयो । उहाँले इमानदारीपूर्वक काम गर्ने इच्छाशक्ति भए उद्यम गर्न सकिने बताउनुभयो । 

नेपाल महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । बिजनेस अक्सिजनका सिइओ सिद्धान्तराज पाण्डेले युवालाई बिदेसिनबाट रोक्न लगानीमा सहजीकरण र कानुनी अड्चन फुकाउनुपर्ने बताउनुभयो । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्न कानुनी रूपमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले स्टार्टअपको दायरा फराकिलो बन्दै गएको बताउँदै गत वर्षदेखि स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएको जानकारी दिनुभयो ।