काठमाडौँ, माघ १६ गते । पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल बिहीबार हुने भएको छ । दशरथ रङ्गशालामा बिहीबार साँझ हुने प्रतियोगिताको उपाधिका लागि सङ्कटा क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीबिच प्रतिस्पर्धा हुँदैछ ।
पूतियोगिताअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दु्वै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन् ।
आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घघ महाधिवेशन निर्देशन समितिले बुधबार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।
नकआउट विधाको यस प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए । प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।
यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।