गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट करिब ४५ करोड बराबरको कारोबार भएको जनाएको छ । कम्पनीले चाडपर्वलक्षित गएको असोज ३ गतेदेखि माघ २ गतेसम्म ४२ जिल्ला ६३ स्थानमा सञ्चालन गरेका सहुलियत मूल्य पसलबाट सो बराबरको कारोबार गरेको हो ।
खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले यस अवधिमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन गरी ५० लाख क्विन्टल बिक्री गर्ने लक्ष्य राखेकोमा ४९ हजार ६८३ क्विन्टल खाद्यवस्तु बिक्री गरेको जानकारी दिनुभयो ।
सरकारले खाद्य कम्पनीलाई अनुदानस्वरूप उपलब्ध गराएको तीन करोड अनुदानमध्ये दुई करोड ६६ लाख ७९ हजार ७३२ प्रत्यक्ष छुट गरेको र बाँकी ढुवानी एवं कम्पनीका कर्मचारीको सेवासमेत गरेर तीन करोड खर्च भएको उहाँले जानकारी दिनुभयो ।
कम्पनीका अनुसार यस अन्तर्गत विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको थियो ।
यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटमा बिक्री गरेको थियो ।
यसैबिच कम्पनीले दसैँमा १० रुपियाँ छुटसहित एक हजार सात सय बढी खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गरेको थियो ।
मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीपरिसरबाट बिक्री गरेको थियो ।