• १८ माघ २०८१, शुक्रबार

विद्यालयमा पाठ्यक्रमको समूह थप

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । विद्यालय तहमा अध्ययनरत विद्यार्थीले रोज्न पाउने पाठ्यक्रमको समूह थप भएको छ । नयाँ समूह थप भएसँगै कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीले अब रोजाइका भाषा पढ्न पाउने भएका छन् ।

पाठ्यक्रम विकास केन्द्रको हालै सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरेको छ । विद्यालय तहका विद्यार्थीले यसअघि अनिवार्य विषयबाहेक ऐच्छिक पहिलो र ऐच्छिक दोस्रो समूहबाट आफूले पढ्ने विषय रोज्नु पर्दथ्यो । 

भाषाको अलग्गै समूह बनाएपछि अब तीन वटा समूहबाट विद्यार्थीले विषय छनोट गर्न पाउने भएका छन् । यसअघि भाषासँग सम्बन्धित पाठ्यक्रमको समूहमा अरू विषय पनि समावेश गरिएको थियो । जसका कारण विद्यार्थीले एउटा विषय रोजेपछि अर्को पढ्न नपाउने अवस्था थियो । 

पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रमको ऐच्छिक पहिलो समूहमा गणित, अर्थशास्त्र, भूगोल, इतिहास, नागरिकशास्त्र, जनसङ्ख्या अध्ययन, बजारशास्त्र, वातावरण विज्ञानसहित नेपाली, मैथिली, अरबी, भोजपुरीलगायतका भाषासँग सम्बन्धित विषय पनि थिए । विद्यालय तहका विद्यार्थीका लागि यो समूहबाट एउटा मात्र ऐच्छिक विषय पढ्न पाउने व्यवस्था गरिएको थियो । अब भाषाको छुट्टै समूह बनाएपछि विद्यार्थीले दुवै विषय रोज्न पाउने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

यसअघि कक्षा ११ र १२ मा रहेका चार वटा समूहलाई विस्तार गरेर भाषासहित पाँच वटा समूह बनेको छ । पाँच वटा समूहबाट विद्यार्थीले तीन वटा विषय छान्न पाउने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रमा हाल भाषासँग सम्बन्धित ३० वटा पाठ्यक्रम बनेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अरू विषय र भाषा एउटै समूहमा भएको हुँदा विद्यार्थीले आफ्नो रोजाइको भाषा पढ्नबाट वञ्चित हुनु परेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको जानकारी दिनुभयो ।