गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा सन्देश दिँदै उहाँले वीर सहिदले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकामा इमानदारिता हुनुपर्ने बताउनुभएको छ ।
सन्देशमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेदको अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात महान् सहिदलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर/वीराङ्गानाप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।