जीवछ यादव
लहान, माघ १७ गते । लहान नगरपालिकाको विभिन्न वडामा रहेको दलित विपन्न बस्तीहरूमा शीतलहरबाट जोगिन अहिलेसम्म एक हजारभन्दा बढी कम्बल वितरण गरिएको छ ।
लहान ४,५,११,१२,१३,१४,१५,१७,१९ र २२ गरी दस वटा वडामा यतिका सङ्ख्यामा शीतलहरको चपेटाबाट विपन्न दलित बस्तीहरूमा कम्बल वितरण गरिएको छ भने सहरी क्षेत्रसँग जोडिएको वडाहरूमा चोकचोमा डिभिजन वन कार्यालयसँग समन्वय गरी दाउरा वितरण गरिएको लहान नगरपालिकाले जानकारी गराएको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिकामा १९ हजार जनसङ्ख्या रहेको दलित बस्तीहरूमा पनि अति प्रभावित मुसहर समुदायलाई लक्षित गरेर एक हजारभन्दा बढी कम्बल वितरण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि केहि वडाहरूबाट नामवली सङकलन हुने काम भइरहेको छ । बाढी र शीतलहरको जोखिमबाट लहान नगरपालिकाका विपन्न र दलित समुदायहरूको सुरक्षित आवास निर्माण र शिक्षा स्वास्थ्य र रोजगारीको कार्यलाई समेत प्राथमिकतामा राखेका छौं ।’
लहान नगरपालिका –१ र २ मा रहेको मुसहर समुदायलाई आवासको ठुलो समस्या आइपरेको बिजुली सदायले बताउनुभयो । उहाँका अनुसार एउटै फुसको घरमा पाँच पाँच जनासम्म छोरा बुहारी बालबच्चा समेत बस्नु परिरहेको छ । जनता आवासको कार्यक्रम अन्तर्गत तीन सय घर बस्ती रहेकोमा दुई चार जनाको घर मात्रै निर्माण भएको छ । यत्रो शीतलहर चल्दा यस बस्तीमा न दाउरा दिइयो न कम्बल नै वितरण गरेको छ । हामी न्यानो लुगा र दाउराको प्रतिक्षमा छौं ।
राहत वितरण होस् चाहे शीतलहरमा न्यानो लुगा किन नहोस आफ्नो दलको कार्यकर्ताहरूलाई मात्रै वितरण गरिरहेको गुनासो लहान नगरपालिकाको विभिन्न वडाबाट आउन थालेको मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनुभयो । उहाँले भन्नुभयो, "राहत वितरण र मानव सेवा जस्ता कार्यमा दलीय नजरले हेर्नु हुँदैन । गुनासो आएको बस्तीहरूमा मानवअधिकारवादी संस्थाहरूले अनुगमन गरेर सही प्रतिवेदन सस्थानीय सरकारलाई बुझाउने तयारी गरिरहेका छौं ।"
लहान नगरपालिका लगायत विभिन्न पालिकाहरूमा स्थानीय सरकारसँग समन्वय गरेर विभिन् गैरसरकारी सङ्घसंस्थाहरूले समेत कम्बल र दाउरा वितरण गरेकोले सिरहाको १७ वटै पालिकाहरूमा यसवर्ष खासै मानव्य समस्या नआएको प्रमुखजिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, "विपद् व्यवस्थापन कार्यमा लहान, गोलबजार, मिर्चैया, कर्जन्हा, धनगढीमाइ सिरहा र सुखीपुर नगरपालिकाले कम्बल वितरण र दाउरावितरण गरिएको छ ।"