अमरराज नहर्की
तनहुँ, माघ १६ गते। नेपालकै सबैभन्दा धेरै सहिद भएको गाउँ हो तनहुँको व्यास नगरपालिका–८ स्थित पुलिमराङ। तर यो गाउँ अझै उपेक्षित अवस्थामा छ। एउटै गाउँबाट ६ जना सहिद भएकोले सहिदको गाउँ भनेर चिनिने भए पनि त्यहाँ पुग्ने सडक साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानुपर्ने बाध्यता छ।
बासिन्दाले सहिदको गाउँलाई ओझेल नपार्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्जली अपर्ण गर्ने क्रममा स्थानीयले बुधबार सो आग्रह गरेका हुन्। एउटै गाउँका ६ जना सहिदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको मुल फुटाउनुपर्ने स्थानीयले माग राखेका छन्।
राष्ट्रपति पौडेललाई सहिद पार्कका अध्यक्ष एकबहादुर गुरुङले कच्ची सडकमा यात्रा गर्नुपर्दा सास्ती व्यहोर्नु परेको स्मरण गर्दै विकासको मूल फुटाउन आग्रह गर्नुभयो। साथै उहाँको ज्ञापनपत्र बुझाउँदै ४२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई आकर्षक बनाउन बृहत् गुरुयोजना अनुसार १५ करोड आवश्यक परेको जानकारी दिनुभयो। सहिद पार्कको सर्वाङ्गीण विकासका लागि सो बजेटको व्यवस्था गर्न माग राख्नुभयो। सहिद स्मारक पार्क तथा पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस क्षेत्रको विकास निर्माणअन्तर्गत पक्की सडक, बिजुलीको स्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिने गरी विकास निर्माणका लागि सरकारसँग सहयोग उपलब्ध गराउने सन्दर्भमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गर्नुभएको थियो।
राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर मुलिमराङका भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ गरेर ६ जनाले शहादत प्राप्त गर्नु भएकोले ती सहिदको सम्झनामा अर्धकदको प्रतिमा राखिएर सहिद स्मारक पार्क बनाई एनि उचित तरिकाबाट संरक्षण गर्न गुरु योजना बनाइएको र त्यसको लागि सहयोग गर्न राष्ट्रपतिलाई समितिको आग्रह थियो ।
२००७ माघ १ गते बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गर्नुभएको थियो। राणा शासनको दमनविरुद्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा होमिने क्रममा धर्मध्वजले शहादत प्राप्त गर्नुभएको थियो। फेरि २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था आएपछि धर्मध्वजले देखेको सपना अधूरै हुने देखिएपछि धर्मध्वज गाउँमा चुपचाप बस्न चाहेनन्।
देशको विकास र परिवर्तनका खातिर यहाँका युवामा क्रान्तिको ज्वाला झनै दन्कियो। निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको क्रान्तिमा लाग्न थाले। २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो। त्यो लडाइँमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो।
२०१८ मा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा शहदात प्राप्त गर्नुभयो। शमशेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिनु भएको थियो।
एउटै गाउँबाट शहादत प्राप्त गरेकाले सो गाउँलाई सहिदको गाउँ भनेर चिनिने गरिएको हो। विकासपछि परेकोले कुनै बेला डेढ सय घरपरिवार रहेको यो गाउँमा हाल करिब ५० घरपरिवार रहेको व्यास नगरपालिका वडा नम्बर ८ का वडा सदस्य रामप्रसाद मिश्रले बताउनुभयो।
तनहुँको सदरमुकाम दमौलीबाट उत्तरतर्फ करिब ४० किलोमिटर टाढा पुलिमराङस्थित सहिद पार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन्।
जहाँनिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदको जन्म पुलिमराङमा भएको हो। यसै सन्दर्भमा सहिद स्मारक कोष समिति २०५१ सालमा स्थापना भएको र २०६६ सालमा छ जना सहिदको अर्धकदको सालिक राखिएको समितिले जनाएको छ।