• १७ माघ २०८१, बिहिबार

भीरबाट बस खस्यो : चालक घाइते, यात्रु सकुशल

blog

भीरबाट खसेको बस ।

जनार्जन खत्री

सर्लाही, माघ १५ गते । सर्लाहीको लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको एक यात्रुबाहक बस मङ्गलबार साँझ दुर्घटनामा परेको छ । 

सर्लाही र सिन्धुलीको सिमाना (पानी ढलो) नजिक लालबन्दी नगरपालिका–१५, चुरे भन्ने स्थानमा बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको बस दुर्घटनामा परेको हो । बस चुरेपाखो भीरबाट करिव १० फिट तल कालिन्जोर खोला किनारमा खस्दा बसका चालक तथा बसधनी लालबन्दी नगरपालिका–१३, पत्थरकोटका ३६ वर्षीय चन्द्रबहादुर काल्तान घाइते हुनुभएको छ । 

प्रहरी चौकी परवानिपुरका अनुसार चालक काल्तानको हातमा सामान्य चोट लागेको छ । बसमा सवार ११ जना यात्रुलाई पहिले नै ओरालेर बस उकालो चढाउन खोज्दा अनियन्त्रित भएर खोला किनारमा खसेको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीले विपरीत दिशाबाट आउँदै गरेको अर्को बसलाई उकालोमा साइड दिनेक्रममा लालबन्दीबाट यात्रु बोकेर गएको बस भीरबाट तल खसेको बताएका छन् । लालबन्दी बजारबाट सर्लाहीको उत्तरी चुरेभेगका विकट बस्ती तथा सिन्धुलीको मरिणसम्म खोलाको बगर तथा चुरेपाखामा खनिएको कच्ची पाखाको बाटोमा यात्रुबाहक बस जोखिमपूर्ण हिसाबले सञ्चालन हुने गरेका छन् ।