• ७ वैशाख २०८२, आइतबार

यातायात कार्यालय हर्कपुर सार्न लागिएको भन्दै विरोध

blog

ओखलढुङ्गाको रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हर्कपुरमा सार्न लागिएको भन्दै विरोधमा उत्रिएका स्थानीय । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, माघ १५ गते ।
ओखलढुङ्गाको रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हर्कपुरमा सार्न लागिएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन भएको छ । सिद्धिचरण नगरपालिका–४ बाट कार्यालय मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुर सार्न लागेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । कोशी प्रदेश सरकारले कार्यालय सार्न चलखेल गरेको आरोप लगाउँदै नेपाल तामाङ युवा घेदुङ ओखलढुङ्गाको अगुवाईमा सदरमुकाममा नाराजुलुससहित विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले विरोधमा नेकपा (एमाले) र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । यातायात कार्यालय रुम्जाटारबाट अन्यत्र सार्ने गतिविधि र निर्णय तत्काल सच्याउन पहल नगरेसम्म तालाबन्दी जारी रहने नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष विवेक तामाङले बताउनुभयो ।

प्रदेश सरकार र राजनीतिक दलहरूलाई दबाब सिर्जना गर्न जिल्ला प्रशासनमार्फत ध्यानाकर्षण गराइएको तामाङले जानकारी दिनुभयो । गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नवीकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गालाई पत्राचार गरेको थियो ।

हाल रुम्जाटारमा रहेको कार्यालयबाट मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधन तथा सिद्धिचरण लोकमार्ग सोलुखुम्बु–कटारी साथै काठमाडौं जाने सवारीहरूलाई सवारीसम्बन्धी सेवा प्राप्त गर्न अपायक परेको साथै प्रदेशको राजस्व प्राप्तिसमेतलाई विचार गर्दै हर्कपुरमा सेवा विस्तार गर्ने निर्णय भएको पत्रमा उल्लेख छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछाप जिल्लाका सवारी धनीहरूलाई सेवा लिन तथा बाटो इजाजतपत्र लिन सहज सरल र सुलभ हुने साथै सोबाट राजस्वसमेत बढी सङ्कलन हुने विश्वास गरिएको कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाको मुख्य कार्यालय रुम्जाटारमा रहने गरी हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गर्न पत्रमा भनिएको भए पनि स्थानीयले कोशी प्रदेश सरकारले रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हटाउने तयारी गरेको भनी आशङ्का गरेका छन् । सरकारको निर्णयविरुद्ध नागरिक आन्दोलित भएका हुन् ।

हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारीसम्बन्धी सेवा विस्तार गर्नका लागि पत्र प्राप्त भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाका प्रमुख शम्भु शाहले बताउनुभयो । पत्र अनुसार सवारीलाई अस्थायी रुट परमिट जारी र ब्लुबुक नवीकरणको सेवा हर्कपुरबाट प्रदान गर्ने गरी सेवा विस्तार हुन लागेको प्रमुख शाहले जानकारी दिनुभयो । रुम्जाटारबाट कार्यालय हटाउने विषयमा आफूलाई जानकारी नभएको प्रमुख शाहको भनाइ छ । हाल यस कार्यालयमार्फत सवारीलाई अस्थायी रुटपरमिट जारी, रजिस्ट्रेसन पास, ब्लुबुक नवीकरण, सवारी चालक अनुमति पत्र जारी तथा नवीकरणलगायतको सेवा प्रवाह भइरहेको छ । मध्यपहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछाप जिल्लाका सवारी धनीहरूलाई हर्कपुरबाट सेवा लिन सहज हुने विश्वास गरिएको छ ।

प्रदेश सरकारले यातायात कार्यालय सार्ने हेतुले पत्र पठाएको भन्दै तत्काल त्यस्ता निर्णय रोक्न दबाब स्वरूप आन्दोलनका कार्यक्रम थालिएको नेकपा एमाले सिद्धिचरण नगरकमिटी अध्यक्ष तथा रुम्जाटारका स्थानीय प्रकाश कटवालले बताए । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री अम्बीरबाबु गुरुङको पहलमा ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।