• १७ माघ २०८१, बिहिबार

‘पाल्पा घुम्न आउनेलाई पानीको अभाव हुने छैन’

blog

प्रारम्भिक वातावरणीय परीक्षण, प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरू । तस्बिर:बिन्दु थापा

बिन्दु थापा
पाल्पा, माघ १५ गते ।
सङ्घीय सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा खानेपानीका कारण पर्यटक फर्कन पर्ने दिन अब हराएको बताउनुभएको छ । गैरेले तानसेन खानेपानी उपभोक्ता समितिले प्रस्ताव गरेको कालीगण्डकी, सिस्ने र भुल्के खोलाको पानी अपलिफ्ट गर्ने तथा बतासेडाडाँमा भण्डारण टङ्की र विश्राम केन्द्र (रिफ्रेसमेन्ट सेन्टर) कार्यका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण, प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

गैरैले भन्नुभयो, “पाल्ल्पामा पछिल्लो समयमा खानेपानी समस्या पहिलेको जति नभए पनि अझै समस्या समाधान भइसकेको छैन । विभिन्न प्राविधिक कारण पुराना पाइपलाइन मर्मत सम्भार गर्दै यसको समस्या समाधान हुनेमा ढुक्क हुनुस पानीका कारण कृषि तथा व्यापार व्यवसाय बन्द हुन दिने छैन ।”

गैरेले ५० लाख लिटरको पानी ट्याङ्की निर्माण गरी तानसेनवासीलाई सहज रूपमा पानी उपलब्धता गराउन प्रयत्नशील रहेको बताउनुहुँदै समितिलाई यो काममा निरन्तर रूपमा लाग्न आग्रह गर्नुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सबै नागरिकको घरघरमा पानी पुर्‍याउनु सरकारको दायित्व भएकाले नगरपालिकाले उपभोक्ता समितिलाई काम गर्न दिएको प्रतिफल राम्रो आएको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “स्थानीय बासिन्दा काकाकुल अवस्थाबाट अहिले मुक्त भइसकेका छन्, केहि स्थानमा भौगाेलिक हिसाबले सानो पानी आउँदा, पुराना पाइपलाइन हुँदा केहि समस्या अवश्य भएका छन् । यसलाई पनि अब छिट्टै समाधान गर्नमा पहल गर्ने छौं ।” तानसेन खानेपानी उपभोक्ता समितिले पानीको सहजताका लागि ५० लाख लिटर पानी भण्डारण क्षमताको ट्याङ्की निमार्ण गने सोच सकारात्मक रहेको बताउउनुभयो । यसलाई विज्ञ टोलीले अनुगमन र निरीक्षण गरेर उपयुक्त ठाउँमा निर्माण गरी तानसेनमा पानीको अभाव हुन नदिन दीर्घकालीन समस्या समाधान गर्न सधैं साथमा रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जोखिममा रहेका स्थानीयलाई कुनै असर नपर्ने गरी ट्याङ्कीको निर्माण गरीने बताउनुभयो । करोडौंको लगानीमा गर्न लागेको कामका कारण स्थानीयलाई सहज पानीको पहुँचमा पुरयाउनु भएकाले स्थानीयवासीले ढुक्क भएर सहयोग गर्न अनुरोध गर्नुभयो ।

यस्तै, संविधान सभा सदस्य लिला सोमै, लुम्बिनी प्रदेशका सभा सदस्य वीरबहादुर राना, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई, समितिका सचिव प्रेमबहादुर मल्ल, पाल्पा व्यापार सङ्घका अध्यक्ष बिष्णुबहादुर कार्की, नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगायतले बोल्नुहुँदै जोखिम क्षेत्रको पहिचान गरेर समाधान गर्दै पानी ट्याङ्की निर्माण गरिनुपर्ने, राज्यका नीति तथा नियमको पालना गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

ट्याङ्की निर्माणका लागि अध्ययन तथा अनुसन्धानमा खटिएका समाजशास्त्री किरणकुमार गुप्ताले प्राविधिक विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । गुप्ताका अनुसार अहिले निर्माण हुन लागेको ट्याङ्की ७.५ म्याग्नेच्यूटको भूकम्पले असर नपर्ने किसिमको बनाउने योजना रहेको बताउनुभएको थियो । पानीको प्रयाप्त प्रयोग गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन् । बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाले जोखिम क्षेत्रलाई पर्न सक्ने समस्याका बारेमा बुझेर अगाडि बढ्नुपर्ने बताएका थिए ।