काठमाडौँ, माघ १४ गते । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालललायतले शुभारम्भ गर्नुभयो । विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दुग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएको छ ।
व्यापार केन्द्रको शुभारम्भ गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुआत प्रंशसनीय रहेको उल्लेख गर्दै उहाँले स्थानीय उत्पादनको गुणस्तर सुनिश्चितामा ध्यान दिन आग्रह गर्नुभयो ।
नेकपाका महासचिव चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महसुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आत्मनिर्भरता र अन्तरनिर्भरताको नयाँ परिभाषा आवश्यक भएको उल्लेख गर्दै नेकपाले सुरु गरेका उत्पादन परियोजनाको प्रंशसा गर्नुभयो ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले श्रम संस्कृति दिनानुदिन कमजोर भइरहेको अवस्थामा नेकपाले सञ्चालन गरेको उत्पादन अभियान राष्ट्रिय अर्थतन्त्रमा नयाँ मोडल भएको बताउनुभयो । रासस