रमेश रावत
अछाम, माघ १४ गते । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडामा चितुवाले आक्रमण गर्दा सात वटा बाख्रा मरेका छन् ।
शनिबार राति स्थानीय कुशे भाटले पालेका सात वटा बाख्रा चितुवाले मारेको वडाध्यक्ष रामप्रसाद जैसीले जानकारी दिनुभयो ।
खोर भित्रै बाख्रा मारिएपछि भाटको झन्डै एक लाख रुपियाँभन्दा बढीको नोक्सानी भएको वडा कार्यालयको मुचुल्कामा उल्लेख छ । कालेकाँडाका विभिन्न स्थानहरूमा बेला बेला चितुवाले पशु चौपाया मार्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।
गाउँमै बाख्रा पालेर व्यवसाय गरिरहेका भाटले बाख्रा पालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहनुभएको थियो । ठुलो क्षति हुनेगरी बाख्रा मरेपछि सम्बन्धित निकायबाट बाख्रा धनी भाटलाई राहत उपलब्ध गराइनुपर्ने विशेष बाख्रा उत्पादन कार्यक्रमका अध्यक्ष भरत कार्कीले बताउनुभयो ।