• १६ माघ २०८१, बुधबार

उपराष्ट्रपति यादव र म्यानमारका राजदूत म्योम्यिन्टमाउङबिच शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेट गर्दै ।

काठमाडौँ, माघ १४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवम् सांस्कृतिक सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो । 

उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबिचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउनुभयो । ‘यो वर्ष हामी नेपाल र म्यानमारबिच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव मनाइरहेका छौं’ उहाँले भन्नुभयो, ‘हाम्रा दुई देशहरूबिचको र्षौं पुरानो सम्बन्ध पारस्परिक सद्भाव, सम्मान, विश्वास र सहकार्यमा आधारित रहेमा दुई देशबिचको सम्बन्धलाई सांस्कृतिक मूल्य मान्यताहरूले अझ मजबुत बनाएको छ ।’

 उपराष्ट्रपति यादवले दुई देशका परराष्ट्र मन्त्रालयबिच सन् २०१८ मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना, कूटनीतिक र सरकारी पासपोर्ट वाहकका लागि भिषा उन्मुक्ति दिने सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘नेपाल र म्यानमार दुवै बिमस्टेकको सदस्यका रूपमा सहकार्य गर्दै आएका छन् ’ उहाँले भन्नुभयो, ‘बिमस्टेकले दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाबिच अन्तरक्रिया र सहकार्य बढाउँदै समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उहाँले अति कम विकसित राष्ट्रहरूको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएका पनि बताउनुभयो । 

 ‘आगामी दिनमा नेपाल र म्यानमारबिच सम्पन्न भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्य सम्बन्धी समझदारीहरूको कार्यान्वयन भई दुई देशको आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुनेछ भन्नेमा विश्वस्त छु’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हाम्रा दुई देशको भाषा संस्कृति र रहनसहनमा समानता छ । बौद्ध दर्शन र संस्कृति दुवै देशको साझा सम्पदाको रूपमा रहेको छ। लुम्बिनी बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल हो ।’

उहाँले बौद्ध धर्मावलम्बीहरूका लागि नेपाल एउटा पवित्र तीर्थ हुनुका साथै बुद्धका शान्ति, सद्भाव, सहिष्णुता र करूणा जस्ता सन्देशमा विश्वास राख्ने सबैका लागि एउटा आस्था र सम्मानको थलो भएको बताउनुभयो । ‘यसले नेपाल र म्यानमारबिच पर्यटन र सांस्कृतिक सहकार्यको समेत मार्गप्रशस्त गरेको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘लुम्बिनी म्यानमारका तिर्थयात्रीहरूको मुख्य गन्तव्यस्थलका रूपमा रहेको छ । लुम्बिनी परिसरमा रहेको म्यानमार स्वर्ण मन्दिरले पनि नेपाल एवं म्यानमारका जनताबिचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।’

नेपाल र म्यानमारबिच सम्बन्ध सुदृढीकरणमा तपाईंले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने उल्लेख गर्दै उपराष्ट्रपति यादवले म्यानमारको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण म्यानमारी जनताको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना समेत व्यक्त गर्न गर्नुभयो ।

राजदूत यु म्योम्यिन्टमाउङले नेपाल र म्यानमार भगवान बुद्धलाई एकनासले सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘नेपाल र म्यानमारबिच जनस्तरको सम्बन्ध छ’ उहाँले भन्नुभयो, ‘ नेपालको ‘नन–अलायन्स’ जस्तै म्यानमारको पनि नीति रहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ ।’