• ९ वैशाख २०८२, मङ्गलबार

तामाकोशीमा र्‍याफ्टिङ

blog

रामेछापको तामाकोशीमा गत वर्ष सञ्चालन भएको र्‍याफ्टिङ । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ
रामेछाप, माघ १४ गते ।
रामेछापको तामाकोशीमा र्‍याफ्टिङको मज्जा लिन पाइने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा यही माघ १६ देखि २६ गतेसम्म ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ हुँदै छ ।

यही मेला प्रदर्शनीको अवधिभर जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको हलेदेदेखि मन्थली नगरपालिका आकाशे पुलसम्म तामाकोशीमा र्‍याफ्टिङ सञ्चालन हुने छ ।

किङस्टार क्रियसन प्रालिले विगतका वर्षहरूमा हुने महोत्सवमा जस्तै यो वर्ष पनि तामाकोशीमा र्‍याफ्टिङ सञ्चालनको तयारी गरेको छ ।

रामेछाप जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो वर्ष पनि गएका वर्षहरूमा जस्तै हलेदेदेखि मन्थली आकाशेसम्म र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको किङस्टार क्रियसन प्रालिका सञ्चालक सुमन खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो “जिल्लाको पर्यटन आवागमन बढाउन विगत केही वर्षदेखि र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छौँ । यो वर्ष पनि माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीका अवसरमा र्‍याफ्टिङ सञ्चालन हुन्छ ।”
मेला प्रदर्शनी अवधिभर तामाकोशीमा   याफ्टिङको मज्जा लिन सकिने उहाँले बताउनुभयो ।

रामेछाप जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादनसहित पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन मेला प्रदर्शनी आयोजना गर्न लागिएको रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो । यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछापमा धेरै कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरू छन् । यहाँ धेरै पर्यटकीय क्षेत्रहरू पनि छन् । यी सबैको प्रवर्द्धन गर्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको आयोजना गरिएको हो ।”

११ दिने मेला प्रदर्शनी अवधि भर लिखुतामाकोशी गाउँपालिकाको हलेदेदेखि मन्थली नगरपालिका आकाशे पुलसम्म तामाकोशीमा सञ्चालन हुने र्‍याफ्टिङले पनि आकर्षण बढाउने उहाँले बताउनुभयो ।