• १६ माघ २०८१, बुधबार

आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)

blog

थारू सांस्कृतिक सङ्ग्रहालयमा मूर्ति तथा चित्रहरू । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, माघ १४ गते । दाङको दङ्गीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक सङ्ग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रूपमा विकास भइरहेको छ । 

थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको सङ्ख्यामा मानिसहरू पुग्ने गरेका छन् । 

करिव पाँच वर्षअघि स्थापना भएको थारू संग्रहालयमा पूर्वको मोरङदेखि पश्चिम कञ्चनपुरसम्म बसोवास गर्ने थारू समुदायको कला, संस्कृति, गरगहना, रीतिरिवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्रीहरू राखिएका छन् । थारू समुदायको कला, संस्कृति र पहिचान झल्ने सामग्रीसँगै थारू जातिका प्रथम राजा दङ्गीशरणको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ ।  

थारू जातिको उद्गमस्थलका रूपमा रहेको दाङलाई थारू जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउनुहुन्छ । 

उहाँका अनुसार सांस्कृतिक संग्रहालयमा थारू समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसँगै मूर्ति, चित्रहरू राखिएका छन् ।

थारू जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन तथा अनुसन्धान गर्न चाहने व्यक्तिका लागि अध्ययनस्थल भएको भन्दै पूर्व मूख्यमन्त्री चौधरीले बताउनुभयो । उहाँका अनुसार चार विघा क्षेत्रफलमा फैलिएको संग्राहलयमा करिव ९० लाख बढीको सम्पत्ति जोडिएको छ । 

थारू बस्तीको झल्को दिने परम्परागत घरहरू, कोठा, देवता राख्ने ठाउँलगायतका जन्मदेखि मृत्युमा गरिने संस्कार झल्काउने सामग्रीसँगै महिला र पुरुषले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने कपडालगायतका शृङ्गारका सामग्री राखिएको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताउनुभयो । 

संग्रहालय स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारसँगै थारू समुदायको लगानी रहेको उहाँले बताउनुभयो । उपाध्यक्ष चौधरीका अनुसार संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटक गरेर दैनिक दुई सयदेखि चार सय मानिसहरू पुग्ने गरेका छन् । संग्रहालयमा प्रवेशका लागि सय रुपियाँ शुल्क निर्धारण गरिएको र जसमध्ये दस प्रतिशत दङ्गीशरण गाउँपालिकालाई जाने गरेको छ ।