• १४ माघ २०८१, सोमबार

सुत्केरीको स्वास्थ्य परीक्षणसँगै पोषण सामग्री वितरण

blog

सुत्केरीको स्वास्थ्य परीक्षणसँगै पोषण सामग्री वितरण गरिँदै ।तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, माघ १४ गते । दोलखाको भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठ सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सुत्केरीका घर घरमा पुग्न लाग्नुभएको छ । 

सुत्केरी भएको थाहा पाउनेबित्तिकै अन्डा, सुत्केरीलाई कपडा, बच्चालाई न्यानो कपडा, साबुनलगायतका सामग्री बोकेर आर्थिक वर्ष २०८१/८२ विनियोजित बजेट अनुसार भेटघाट गर्न घर घर जान लागेको उहाँले बताउनुभयो । 

उहाँ मात्र होइन, उहाँको साथमा स्वास्थ्यकर्मीसँगै सुत्केरी घरमा पुगेका हुन्छन् । सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत वडाका स्वास्थ्यकर्मी, सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गरी आमा र बच्चालाई पोषणयुक्त खानेकुरा र सरसफाइ सामग्री हस्तान्तरण गर्न थालेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

यो अवस्थामा सुत्केरी महिला शारीरिक मानसिक रूपमा असन्तुलन हुने र बच्चाको स्वास्थ्य अवस्था बुझ्नका लागि यो कार्यक्रम तय गरिएको हो । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्य अवस्था बेलामा थाहा पाएमा पछि थप रोग लाग्नबाट बचाउन सकिन्छ । वडा कार्यालयले गर्भवती भएपछि र सुत्केरी हुनेबित्तिकै घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेको छ ।” 

कतिपयको घरमा सुत्केरी हुँदा स्वास्थ्य अवस्थाबारे बुझ्ने र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान नदिने गरेकाले यस किसिमको कार्यक्रम ल्याइएको हो । अभिलेख अनुसार यस वडामा वार्षिक ३० जनाभन्दा बढी गर्भवती सुत्केरी हुने गर्छन् । साउन महिनाबाट कार्यक्रम कार्यान्वयनमा आएको हुनाले अहिलेसम्म सात जनाले सेवा पाइसकेको माटी स्वास्थ्य चौकीका हेल्थ पोस्ट इन्चार्ज शारदा न्यौपानेले जानकारी दिनुभयो । 

गर्भवती भएपछि सुत्केरी नहुन्जेलसम्म गर्भवती महिलाले आठ पटक गर्भ जाँच गर्नु पर्छ । यदि आठ पटक तोकिएको समयमा गर्भ जाँच गरेमा नेपाल सरकारले तोकिएको सुत्केरी भत्ताबापत तीन हजार नौ  सय रुपियाँ पाउने छन् । सुत्केरी भेटघाट कार्यक्रमले सुनौलो हजार दिनलाई समेत टेवा पुगेको छ । हेल्थ पोस्ट इन्चार्ज न्यौपानेले यस खालको कार्यव्रmम जिल्लामै नयाँ र पहिलो रहेको जानकारी दिनुभयो ।