गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १४ गते । स्वदेशमा मात्र होइन, विदेशमा पनि यतिबेला नेपाली चलचित्रले दर्शक पाइरहेको छ । नेपाली डायस्पोराको बढ्दो प्रभावसँगै नेपाली चलचित्रले विदेशको थिएटरमा सो पाउनु अहिले सामान्य जस्तै भएको छ । युरोप, अमेरिका, अस्टे«लियालगायत महादेशका सहरहरूबाट नेपाली चलचित्रले मनग्गे आम्दानी पनि गरेका छन् । पछिल्लो समय ‘प्रेमगीत–३’, ‘छक्कापन्जा–५’, ‘ज्वाइँसाब’, ‘तेल भिसा’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चलचित्रले विदेशबाट पनि राम्रो कमाइ गरेका छन् ।
कुनै समय विदेशमा नेपाली चलचित्र चलाउनु ठुलै कुरा मानिन्थ्यो । विदेशमा रहेका केही सक्रिय नेपाली सङ्घसंस्थाले नेपाली समुदायलाई मनोरञ्जन दिने हिसाबले एक/दुई वटा सो चलाउने गर्थे । केहीले कलाकार झिकाएर स्टेज सो गर्थे ।
विश्वव्यापीकरणको प्रभावसँगै अहिले स्टेज मात्र होइन, थिएटरमै नेपाली चलचित्र चल्नुलाई उपलब्धि नै मान्नु पर्छ । यसले एकातिर विदेशमा पनि नेपाली चलचित्रको बजार छ भन्ने मानकलाई स्थापित गर्न खोज्दै छ भने अर्कातिर निर्माणकर्ताको लगानी सुरक्षित हुन सक्ने सन्देश पनि दिएको छ । नेपाली चलचित्र उद्योग जति बलियो हुँदै जान्छ; यसमा आश्रित कलाकारको ‘स्टेटस’ पनि त्यति बढ्दै जान्छ । साथै उनीहरूको आर्थिक, सामाजिक स्तर पनि बढ्छ । उनीहरू आर्थिक र सामाजिक सुरक्षा खोज्दै विदेश भौँतारिनु पर्दैन । कुनै समय नाम चलेका कलाकारसमेत आफ्नो अवस्था सुधार्न विदेश भासिएको तथ्य कसैबाट लुकेको छैन । अभिनेता सरोज खनाल हुन् वा करिश्मा मानन्धर; सुशील क्षेत्री, राजवल्लभ पौडल, अरुणिमा लम्साल, उषा पौडेललगायत थुप्रै कलाकार आफ्नो जल्दोबल्दो करिअर छाडेर विदेश भासिएका हुन् । तीमध्ये सरोज खनाल, करिश्मा मानन्धर, राजाराम पौडेललगायत केही स्वदेश फर्किए । केही अझै उतै छन् । यतिबेला भने विदेशमै रहेका केही कलाकारको नेपाली चलचित्रमा अभिनय गर्न लर्को नै लागेको छ ।
केहीले चलचित्र निर्माणसमेत गरेका छन् । अभिनेतृ ऋचा घिमिरेका ‘छोडी गए पाप लाग्ला’, ‘गिरफ्तार’, ‘फर्ज’, ‘फैसला’ लगायत थुप्रै चलचित्र सफल छन् । हालै मात्र ऋचा दम्पती ‘तेल भिसा’ चलचित्र निर्माण गरी अमेरिका फर्किएको छ । आफ्नो चलचित्र चलाउन नेपाल आएकी ऋचा सपरिवार अमेरिकाको बाल्टिमोरमा बसोबास गर्नुहुन्छ ।
दिलीप रायमाझी झन्डै एक दशकअघि ‘सुरक्षित भविष्य’ खोज्दै बिदेसिनुभएको थियो । ‘जिन्दगानी’, ‘दर्पण छाया’, ‘आफ्नो मान्छे’, ‘बादलपारि’ जस्ता सुपरहिट चलचित्रको लामो सूची उहाँसँग थियो । चटपटे र नृत्यमा जोसिला दिलीप बर्सौंसम्म एकनासले छाइरहनुभयो नेपाली चलचित्रमा । अभिनयमा त्यही बुवाको आनुवंशिक गुण बोकेर अमेरिकाबाट आउनुभएको छ, दिव्या रायमाझी । दिव्याले ‘एक्टर’ र ‘पीताम्बर’ मा काम गर्नुभएको छ । दुवै चलचित्र प्रदर्शन हुन बाँकी छ ।
फिल्म ‘हाइवे टु धम्पुस’ मा काम गर्न अमेरिका पुगेका अभिनेता राजवल्लभ कोइराला नेपाल फर्किनुभएन । उतै बस्नुभयो । यसअघि उहाँ गत जेठमा चलचित्रको अभिनयका सिलसिलामा नेपाल आउनुभएको थियो । कोइराला ‘एक्टर : टेक वान’ बाट नौ वर्षपछि अभिनयमा कमब्याक गर्दै हुनुहुन्छ । कोइरालाले सन् २००७ मा चलचित्र ‘पर्खी बसेँ’ बाट अभिनय सुरु गर्नुभएको हो ।
चलचित्र ‘आगो’ मा समावेश ‘माया बस्यो मुटुमा’ गीतबाट चर्चा कमाएका नायक सुशील क्षेत्री कुनै समय नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त नायकको सूचीमा पर्नुहुन्थ्यो । अमेरिका पलायन भएका उहाँ ‘तेल भिसा’ मार्फत नेपाली चलचित्रमा कमब्याक हुनुभएको छ । यसै गरी अमेरिका बस्दै आएका पूजा चन्द र अरुणिमा लम्साल पनि लामो समयपछि नेपाली चलचित्रमा देखिनुभएको छ ।