• १४ माघ २०८१, सोमबार

बागमतीमा चालु खर्च बिस प्रतिशतले कटौती

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ १४ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमा चालुतर्फको खर्च कटौती गरेको छ । पुँजीगततर्फ चालु आवमा खर्च गर्न विनियोजित खर्चका शीर्षक र रकमलाई यथावत् राखी चालुतर्फको खर्च २० प्रतिशतले कटौती गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । 

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले विपत्पछिको पुनर्निर्माणलगायतका कार्य गर्न चालु खर्च कटौती गरेको बताउनुभयो । 

उहाँले प्रदेशका मन्त्रालय, निकाय र प्रदेश सरकारमातहतका सबै कार्यालयको चालु बजेट खर्चमा २० प्रतिशतले कटौती गर्ने गरी मन्त्रालयमा जानकारी गराइसकिएको र मन्त्रालयहरूले मातहतका निकाय र कार्यालयमा चालुतर्र्फको बजेट खर्च कटौती गरी चालु आवमा खर्च गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । 

गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति भएपछि चालुतर्फका शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपत्पछि सृजित पुनर्निर्माणलगायतका समस्या सम्बोधन गर्न चालु बजेट खर्चमा कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले गत असोजमा आएको बाढीपहिरोपछि राहत, उद्धारलगायतका शीर्षकमा खर्च भएको र प्रदेशमा विभिन्न जिल्लामा विपत्पछि भौतिक पूर्वाधारका संरचनामा क्षति पुगेका क्षेत्रमा चालुतर्फका विभिन्न शीर्षकमा विनियोजित बजेट २० प्रतिशतले कटौती गरिएको र त्यसले तत्काल मर्मतसम्भार, पुनर्निर्माणलगायतका कार्यमा खर्च गर्ने योजना अगाडि बढाइएको बताउनुभयो ।