गोरखापत्र समाचारदाता
भक्तपुर, माघ १४ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता, समानुपातिक, समावेशी प्रणालीसहित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
भक्तपुरमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको प्रतिमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले व्यवस्थाको विकल्प खोज्ने बहसले देशलाई १० वर्ष पछाडि धकेल्ने बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्दा समुन्नत राष्ट्र निर्माणको विषयलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा केही कुरा फेरिए पनि आधारभूत कुरालाई नचलाउने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संविधान र व्यवस्था बदल्ने कुरामा बहस गरिए १० वर्ष खेर जान्छ, विकल्प खोज्न नलागौँ । व्यवस्था छ । पाँच वर्षमा चुनाव आउँछ । काम गरे जितिन्छ । काम नगरे जनताले विकल्प खोज्छन् । तर नेतृत्वमा रूपान्तरण गरेर अघि बढ्नु पर्छ । व्यवस्थालाई सुदृढ बनाउनु पर्छ ।”