• १४ माघ २०८१, सोमबार

संसद् अधिवेशनबारे दलीय परामर्शमा सभामुख

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख देवराज घिमिरेले दलीय परामर्श गर्नुभएको छ । सभामुख घिमिरेले आइतबार सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । उहाँले दुवै पक्षलाई छुट्टाछुट्टै बोलाएर छलफल गर्नुभएको हो । सभामुख घिमिरेले सोमबार पाँच दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि आमन्त्रण गर्नुभएको छ । हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुँदै छ । 

सभामुख घिमिरेले विचाराधीन विधेयक तथा सदनका अन्य कामकारबाहीका विषयमा प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो । विचाराधीन विधेयक तथा सदनको प्रभावकारिताका विषयमा छलफल भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो । बर्तौलाले भन्नुभयो, “हिउँदे अधिवेशनको प्रभावकारिताका विषयमै छलफल भयो । संसद्मा अहिले विचाराधीन रहेका सबै विधेयकलाई अघि बढाउने र सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भयो । अधिवेशनको पहिलो बैठकमा शीर्षनेताबाट सम्बोधनका विषयमा पनि छलफल भएको छ ।”

सत्तापक्ष कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सभामुखले विचाराधीन विधेयकबारे जानकारी माग गर्नुभएको बताउनुभयो । समितिबाट प्रतिवेदन पारित भइसकेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र राष्ट्रिय सभाबाट पारित भएको राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयकबारे पनि सभामुखले धारणा माग्नुभएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमा पनि उहाँले जानकारी लिनुभयो । हामीसँग धारणा पनि माग गर्नुभयो । यो विषयमा पार्टीभित्र छलफल गरेरै राय दिने जानकारी गराएका छौँ । संवैधानिक परिषद् विधेयकका विषयमा पनि उहाँको चासो रह्यो ।”

यस्तै प्रतिपक्ष दलका प्रमुख सचेतकको बैठकमा पनि सभामुख घिमिरेले विचाराधीन विधेयक तथा सदनको कामकारबाहीबारे चासो राख्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कानुन निर्माणको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । पाण्डेले भन्नुभयो, “मुख्य गरी कानुन निर्माणका कुरामै छलफल भयो । समितिहरूमा रहेका विधेयकलाई कसरी अघि बढाउने र आउँदो अधिवेशनलाई सकेसम्म प्रभावकारी बनाउने विषयमा उहाँले जिज्ञासा राख्नुभयो ।”

अधिवेशन आह्वानसँगै सचिवालयले तयारी अघि बढाएको छ । सोही सिलसिलामा सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो । सोमबार पाँच दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि परामर्शको कार्यतालिका रहेको सभामुखको निजी सचिवालयले जनाएको छ । माघ १५ गतेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक पनि बोलाइएको छ । सभामुख घिमिरेले विचाराधीन विधेयकको छलफल चाँडो टुङ्ग्याउन समिति सभापतिहरूसँग पनि पटक पटक छलफल गरिरहनुभएको छ । 

संसदीय समितिमा अहिले विभिन्न चरणमा गरी डेढ दर्जन विधेयक विचाराधीन छन् । केही विधेयक दर्ता मात्र भएका छन् ।