जनार्जन खत्री
सर्लाही, माघ १३ गते । नेकपा (माओवादी केन्द्र) सर्लाहीले आइतबार डिभिजन वन कार्यालयमा धर्ना दिएको छ । बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान लगायतलाई झुठा वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्रले लालबन्दीस्थित वन कार्यालयमा धर्ना दिएको हो ।
बागमतीदेखि लालबन्दीमा रहेको वन कार्यालय अगाडिसम्म मोटरसाइकल ¥याली निकालेर माओवादीका नेता, कार्यकर्ताले वन कार्यालय अगाडि धर्ना दिएका हुन् । जिल्लाका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा माओवादी केन्द्रका नेता, कार्यकर्ता वन कार्यालय घेराउ गर्न आउँदा डिभिजन वन कार्यालय परिसरमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ता वन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका छन् ।
पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्लेका अनुसार जनप्रतिनिधिमाथि वन मुद्दा दायर हुन लागेको विषयमा शुक्रबार मुख्यमन्त्री सतीशकुमार सिंहलाई भेटेर ज्ञापनपत्र बुुझाएको थियो । मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको वस्ती वन क्षेत्रभित्र पर्ने नपर्ने वा संरचना निर्माणकाक्रममा स्वीकृत लिए–नलिएको अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले बताउनुभयो ।