• १४ माघ २०८१, सोमबार

अछाम घटनाको स्थलगत रिपोर्टिङ

किशोरीहरुको हत्या भएको दावी गर्दै छानविनको माग

blog

घटनाभएको जंगलमा स्थानीयहरु । तस्विरः रमेशबहादुर रावत

रमेशबहादुर रावत

अछाम, माघ १३ गते । अछाममा मृत भेटिएका दुई जना किशोरीका आफन्तले हत्या भएको आशङ्का गरेका छन् । ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको ढकारी गाउँपालिकाकै –१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो । 

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनका लागि स्थानीय प्रशासनसँग माग गरेका हुन् । शव क्षतविक्षत अवस्थामा अलग–अलग ठाउँमा फेला परेका छन् । मृतक दुबै जना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपु र ईशरा नातामा भदैनी पर्छन् । 

मृतक सरस्वतीकी आमा तारा खड्काले आफ्नो छोरीलाई कसैले मारेको दाबी गर्नुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिनका लागि घटनास्थल पुग्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसमक्ष आग्रह गर्नुभयो । 

मृतक ईशराको भाउजू कृष्णा खड्काले दुवै जनाको हत्या भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक जना मात्र भए पनि हामी भवितव्य भयो भन्थ्यौं, दुई जना एकै प्रकारले कसरी मरे ? घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’

घटनामा संलग्न भएको हुनसक्ने आशङ्का भएका व्यक्तिको विवरण परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएको बताइएको छ । आशङ्का गरिएका व्यक्तिले मृतककी भाउजू कृष्णासँग टेलिफोनमा कुरा गर्दै शुक्रवार आफू त्यस जङ्गलमा गएको स्वीकार गरेका छन् । 

उनले मृतक दुबै जनासँग आफ्नो कुराकानी भएको तर आफू चाँडै फर्किएको बताएका छन् । कृष्णाका अनुसार आफूसँगको कुराकानीमा आरोपीले उनीहरुको मृत्युको विषयका आफूलाई जानकारी नभएको बताउनुभयो । आरोपीको फोन भने अफ देखिएको छ । उनलाई प्रहरीले खोजी सुचीमा राखेको जनाएको छ । 

आइतबार बिहान घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल पुग्नु भएको छ । उहाँसँगै अछाम प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी पनि पुग्नुभयो । प्रमुख जिल्ला अधिकारी लम्सालले घटनालाई गम्भीर रूपमा लिएको बताउनुभयो । ‘घटनास्थलको प्रकृति हेर्दा दुर्घटना हो भन्ने वा घटाइएको घटना हो भन्ने ठम्याउन सकिएको छैन’ उहाँले भन्नुभयो । 

अछामका प्रहरी प्रमुख भण्डारीले घटनाको अनुसन्धान सुरु भएको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई समेत अनुसन्धानका लागि प्रयोग गरिएको छ । जम्बो नामको सो कुकुर आइतबार बिहानै घटनास्थल पुगेको थियो ।

यस्तो छ घटना विवरण

शुक्रवार बिहान ढकारी गाउँपालिका –८ काँसेगडाबाट बाख्रा र गोरु लिएर मृतक सरस्वती र ईशरा सोही वडाको बेसीमा पर्ने रिमारवा जानुभयो । उहाँसँगै परिवारका अन्य सदस्य पनि रिमारवा जानुभएको थियो । उतै गोठ छाना भएका उहाँहरुले घरबाट लिएर गएका भाँडाकुँडा र अन्य सामान गोठ छानामा छोडेर बाख्रा लगेर गोठ छानादेखि दश मिनेटको पैदल दूरीमा रहेको छिन्ने ओडारतिर बाख्रा लगेर चराउन जानुभएको थियो ।  

साँझ बाख्रा फर्किएर गोठ छाना आउनै लाग्दा बाटोमा छिमेकीको गँहुबालीमा सरुखान लागे । मृतककै छिमेकीले बाख्रालाई बाटोतिर लगाइदिए । सरस्वतीका ७ र ईश्वरीका १५ बाख्रा गोठ छाना पुगे । मृतकको घरमा रहेका परिवारले बाख्राले सरु खाएको थाहा पाएका थिए । बाख्रा पुगे पनि दुवै जना साँझसम्म गोठ छाना नपुग्दा बाख्राले सरु खाएको भन्दै परिवारका सदस्य रिसाउने डरले घर नआएको बुझाइ थियो ।  

सरस्वतीकी आमाले अबेर रातिसम्म गोठ छानाको आसपास खोजी गर्नुभयो । छोरी आउने आशामा अबेर रातिसम्म पर्खिनुभयो । राति अबेरसम्म नफर्किदा केटासँग  भागेको हुन सक्ने आशङ्का गर्नुभयो ।  

विवाह गरेर भागेर जान सक्ने सम्भावित ठाउँमा पनि खोजी गर्नुभयो । शनिवार बिहानदेखि हराएको कुरा गाउँ काँसेगडामा समेत हल्ला भयो । सबै जनाले विवाह गरेर भागेको हुनसक्ने अड्कल गरेका थिए ।

मृतक दुबै जनाका बुवा छिमेकीमुलुक भारतमा भएकाले सरस्वतीका ठुलाबुवा अवि खड्काले वडा कार्यालयमा बालविवाहको उजुरी दिन जाने सल्लाह गर्नुभयो । सोहीअनुसार खड्का उकालो लाग्दै वडा कार्यालय जान भन्दै जन्मदर्ताको फोटोकपी खोज्न विद्यालय विद्याप्रवधनी मावि पुग्नुभयो । 

शनिवार भएका कारण उहाँले जन्मदर्ताको कपी समेत पाउनु भएन । आइतबार बाल विवाहको मुद्दा दिने गरेर खड्का काँसेगडा फर्किनुभयो । बेलुकी करिब ५ बजे मृतकको लाश भेटिएको स्थान छिन्ने ओडार हुँदै माछा मारेर फर्किएका ४–५ जनाको समूहले ईश्वराको लाश देख्यो । 

स्थानीय प्रेम खड्काले गाउँमा फोन गरेर लाश भेटिएको खबर गर्नुभयो । गाउँले गएर खोजतलास गर्दा १६ मिटरको दूरीमा सरस्वतीको समेत क्षतविक्षत भएको लाश भेटियो । स्थानीयले प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कमलबजारको टोली बेलुकी करिब ६ बजे घटनास्थल पुग्यो । 

प्रहरी टोलीले घटनास्थल शील गरेर राख्यो । रातिको समयमा लाश उठाउन नसकिने भन्दै प्रहरीले घटनास्थललाई सुरक्षा दियो । आइतबार बिहान जम्बो कुकुरसहित प्रमुख जिल्ला अधिकारी, अछाम प्रहरी प्रमुख, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुगेका थिए ।

घटनाको प्रकृति 

ढकारी गाउँपालिका –८ र १ को बिचमा एउटा खोला छ । वडा नम्बर ८ घर भएका उहाँहरुको शव खोलापारी वडा नम्बर १ स्थित सामुदायिक वनमा छ । छिन्ने ओडार भनेर चिनिने सो ठाउँमा साना–साना बुट्यान छ । गोरेटो बाटोजस्तै गोठालाहरूको वारपार गर्ने बाटो छ । 

बाटोदेखि करिब २० मिटरको दूरीमा मृतक ईश्वराको शव छ । उहाँको टाउको र निधारमा ठुलो घाउ छ । बुट्यानमा अड्किएको जस्तो देखिन्छ । उहाँको टाउको शरीरभन्दा तल छ । उहाँको शव भएको ठाउँभन्दा करिब १६ मिटरमाथि अर्का मृतक सरस्वतीको शव छ । उहाँको शव घोप्टो पल्टिएको छ । प्रहरीका अनुसार उहाँको खुट्टा भाँचिएको छ । 

दुवै जनाको शव भएको ठाउँमा सोझै माथिबाट ढुङ्गा लडेर गएको देखिन्छ । दुवै जनाको शव भएको ठाउँबाट ढुङ्गा गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । सरस्वतीको शव भेटिएको ठाउँको करिब ३० मिटर माथिबाट सो ढुङ्गा खसेको देखिन्छ । माथिबाट खसेका दुईमध्ये एउटा ढुङ्गा शव भएको भन्दा अर्को छेउमा करिब ३० मिटर टाढा अड्किएको छ । अर्को ढुङ्गा ईश्वराको शव भएको स्थानको तलतिर करिब १५ मिटर दूरीमा छ । 

दुई किशोरीको शंकास्पद मृत्युले सिङ्गो गाउँ शोकमा छ । स्थानीयहरूले हत्याको आशङ्का गर्दै आफूहरू पनि असुरक्षित भएको महसुस गरेका छन् ।