• १४ माघ २०८१, सोमबार

डिप बोरिङबाट डेढ सय घरधुरीलाई खानेपानी

blog

बलेफी गाउँपालिका–५ ट्रान्सफरमर डाँडामा डिप बोरिङ निर्माण गरेर पानी निकालिएर घरघर पुर्‍याईंदै ।

चित्र मिजार

सिन्धुपाल्चोक, माघ १३ गते । वर्षौंदेखि खानेपानीको चरम समस्या भोगिरहेका बलेफी गाउँपालिका-५ काभ्रे, गैरीगाउँ, गुर्दुमका १५० घरधुरीलाई डिप बोरिङ निर्माण गरेर खानेपानीको व्यवस्था गरिने भएको छ । उक्त वडाको ट्रान्सफरमर डाँडामा डिप बोरिङ निर्माण गरी गाउँमा पानी पुर्‍याउन थालिएको वडाध्यक्ष यादव ठकुरीले जानकारी दिनुभयो । 

बागमती प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत डिप बोरिङ निर्माण गरेर खानेपानी व्यवस्था गरिने उहाँले बताउनुभयाे । ट्रान्सफरमर डाँडामा १ सय ७५ मिटर गहिराई डिप बोरिङ निर्माण गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानीलाई कमप्रेसर, प्रशोधन गरेर स्थानीयवासीका घरघरमा पुर्‍याइनेछ । 

वडाध्यक्षका उम्मेदवार हुने समयमा ठकुरीले १२ महिना पानीको हाहाकार हुने उक्त गाउँहरूमा पानी खुवाउने घोषणपत्रमा उल्लेख गर्नुभएको थियो । सोही अन्तर्गत खानेपानी पुर्‍याउन लागिएको उहाँको भनाइ छ ।

गुर्दुम, गैरीगाउँ, काभ्रेका स्थानीयहरू वर्षौंदेखि खानेपानीको चरम समस्यामा थिए । कमेरे, भोटेपंधेरो, थापुङ लगायतका स्थानमा रहेको मुहानमा एक घण्टा बढी समय लगाएर पानी ल्याउनु पर्ने बाध्यता हटेको स्थानीय अगुवा रञ्जित पौडेलले हर्ष व्यक्त गर्नुभयो । डिप बोरिङको पानीबाट घरायसी प्रयोजनका साथै तरकारी खेतीका लागि पनि पुग्ने जनाइएको छ ।