• १४ माघ २०८१, सोमबार

सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल

blog

पानीको चरम समस्या भोग्दै आइरहेको लिसंखुपाखर गाउँपालिका–७ ठूटेमाने बस्ती । तस्बिर: गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, माघ १३ गते । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ ।

एक त भूकम्पले पानीको मुहान भासिएको छ भने अर्कोतर्फ नियमित रूपमा आउने पानीको मुहान सुकेपछि दर्जनौँ गाउँमा खानेपानीको चरम समस्या हुँदै गएको छ । यस्तै लिसंखुपाखर गाउँपालिका–७ स्थित सिङ्गो गाउँ ठूटेमाने बस्तीमा पानीको मुहान सुकेपछि खानेपानीको हाहाकार भइरहेको छ ।

ठूटेमाने बस्तीमा ४५ घरधुरी छन् । सो बस्तीका प्रत्येक घरधुरीमा ४ जना भन्दा बढी परिवारका सदस्य छन् । त्यस बस्तीमा मानिस, चौपाया सबैलाई पानीको चरम समस्या उत्पन्न भएको छ । पानीको चरम समस्याका कारण घरपरिवारमा समस्या भएकै त छैन, त्यसमाथि उक्त स्थानका विद्यालयका छात्रछात्राहरूले पानी पिउन समेत कठिन अवस्था सिर्जना भएको श्री संसारीमाई माध्यमिक विद्यालयका शिक्षक राज थापाले पीडा सुनाउनुभयो । त्यस बस्ती र त्यहाँका विद्यालयहरूले यो समस्या बर्सेनि खेप्दै आइरहेका छन् । 

बस्तीमाथि रहेको पानीको मुहानबाट ठूटेमाने बस्तीका घरपरिवारले पाइपका माध्यमबाट पानी ल्याएर उपभोग गर्दे आइरहेका थिए । अहिले करिब एक महिनादेखि सो मुहानमा पानी सुकेपछि बस्तीमा पानीको हाहाकार भइरहेको छ । पानीको समस्याले खाना पकाउन, कपडा धुन, नुहाउन, चौपायालाई खुवाउन अति समस्या भइरहेको स्थानीय शिक्षक थापाले बताउनु भएको छ । गाग्री र भाँडा बोकेर ठूटेमानेको बासिन्दा पानी खोज्दै हिंड्न थालेका छन् । आउँदा जाँदा करिब एक घण्टाको समय लगाएर सो बस्तीका मानिसहरू दमाई धारो पानीको ढुङ्गेधारामा पानी लिन पुग्छन् । बिहानैदेखि बेलुकीसम्म त्यस ढुङ्गेधारामा पानी लिन आउनेको घुइँचो लाग्न थालेको छ । त्यस धाराको पानी पनि सुक्दै जाने थालेको छ । त्यस धारामा पानी सुकेमा सयौं घरका मानिसहरू पानी पिउनबाट वञ्चित हुने निश्चित छ । पानीको चरम समस्याबाट त्यहाँका ७५ प्रतिशत दलित समुदाय, १० प्रतिशत तामाङ समुदाय, १० प्रतिशत ब्राह्मण समुदाय र ५ प्रतिशत क्षेत्री समुदाय काकाकुल अवस्थामा छन् ।

त्यसको विकल्पका लागि स्थानीय बासिन्दाले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । वडा कार्यालयबाट सामान्य बजेट परे पनि त्यस बजेटले खानेपानीको मर्मत सुधारमा समेत अपुग हुने गरेको छ । स्थानीयहरूले बागमती प्रदेशका सांसद, सङ्घीय सांसदहरूलाई पानीको समस्या सुल्झाउन आग्रह गर्दे आइरहेका छन् । तर प्रदेश सांसद मसिना खड्का भण्डारीले चुनाव जितेपछि त्यस बस्तीमा नै पुगेकी छैनन् । सङ्घीय सांसद माधव सापकोटाले बस्तीमा खानेपानी पुर्‍याइदिने बारे वास्ता नै नगरेको आरोप लागेको छ । स्थानीयहरू बस्तीमा पानीका समस्या समाधान गर्न बर्सेनि सांसद, जनप्रतिनिधि सम्बन्धित निकाय धाउने गरेका छन् । तर कसैले स्थानीयको खानेपानी समस्या समाधानमा नलागेको स्थानीय राधिका दर्नालले पीडा सुनाउनुभयो । उक्त बस्तीकै मतले ०७० सालको निर्वाचन मोहनबहादुर बस्नेत सांसद जितेपछि मन्त्री भए । तर बस्नेतले पनि सो बस्तीमा खानेपानी पुर्‍याउने काम गरेनन् । आफूले चुनेर पठाएका सांसद, जनप्रतिनिधिले काकाकुल बस्तीको पानीको हाहाकार समाधान नगरेपछि ठूटेमाने गाउँका स्थानीयहरू बर्सेनि पानीको समस्याबाट मुक्त हुन पाएका छैन ।