• १४ माघ २०८१, सोमबार

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ १३ गते । नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनकै लागि अध्यादेश ल्याउनुपरेको प्रस्टीकरण दिएको छ । सिंहदरबारमा शनिबार बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टी संसदीय दलको बैठकले आर्थिक क्षेत्रसँगको विमर्शमै सरकारले अध्यादेश ल्याएको प्रस्ट पारेको हो । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीसँगै विधेयक एवं अध्यादेशका सन्दर्भमा जानकारी दिनुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार गृहमन्त्री लेखकले अध्यादेशमा भएका विषय संशोधन गर्नुपरेमा संसद्मा टेबुल गर्ने बेलामा प्रतिस्थापन विधेयक ल्याएर परिमार्जन गर्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “आर्थिक सुधारको काम गर्नुपर्ने भएकाले केही विधेयकलाई संशोधन गर्नैपर्ने भयो । त्यसैले अध्यादेश ल्याउनुपरेको कुरा गृहमन्त्रीले राख्नुभयो । अध्यादेशका सन्दर्भमा कांग्रेसको धारणा प्रस्ट छ । अध्यादेश आर्थिक सुधारका लागि हो ।”

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पनि मन्त्रालयगत कुरा राख्नुभयो । उहाँहरूले मन्त्रालयमा गरेको र अब गर्ने कामका सन्दर्भमा जानकारी दिनुभयो । 

बैठकमै कुरा राख्न आग्रह

बैठकमा सभापति शेरबहादुर देउवाले संसद्को अधिवेशनमा पार्टीभित्र साझा धारणा बनाएर एकमतका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केही कुरा भए, समस्या भए बैठकमै राखौँ । कांग्रेस एक बनाएर संसद्मा प्रस्तुत गरौँ । बाहिर बोल्नेभन्दा पनि बैठकमै कुरा राखेर साझा दृष्टिकोण बनाउनु पर्छ ।”