• १४ माघ २०८१, सोमबार

सामाजिक विभेदको अन्त्य गर्न पत्रकार सशक्त रुपमा लाग्नु पर्नेमा जोड

blog

कार्यक्रममा सहभागी गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल।

अमरराज नहर्की

तनहुँ, माघ १२ गते। सामाजिक विभेदका विरुद्ध पत्रकार सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिइएको छ। तनहुँको बन्दीपुरमा शनिबारबाट सुरु गरिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्ने वक्ताले जात, लिङ र धर्मको आधारमा हुने विभेदलाई अन्त्य गर्न सञ्चार माध्यमले प्राथमिकता दिएर कलम चलाउनुपर्नेमा जोड दिइएको हो।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजमा व्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्न जरुरी रहेको बताउनुभयो। 

सांस्कृतिक रुपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको भन्दै पत्रकारले पीडितको पक्षमा कमल चलाउनुपर्ने उहाँको भनाइ थियो।  

धितालले भन्नुुभयो, ‘मानव भएर पनि दलित समुदायले मानवीय व्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौं, कानुनमा जे लेखिए पनि व्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारको साझा प्रयत्न अझै बढाउनु पर्छ।’

कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले जातका आधारमा मान्छे मान्छे बिचमा हुने विभेद र छुवाछुतको भावनालाई पत्रकारले जरैदेखि उखेल्न अभिायनकै रुपमा समाचार लेखेर सचेतना जगाउनुपर्ने बताउनुभयो। 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफ्नो गाउँपालिकामा  दलितमाथि हुने कुनै पनि विभेद अन्त्यको लागि आफूले  सक्दो सहयोग गर्ने वाचा गर्नुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका कार्यबहाक अध्यक्ष पूर्ण विकेलगायतले छुवाछुतको व्यवहारिक रुपमा अन्त्य गर्नको लागि  दलितले भोग्नु परेको गम्भीर समस्यालाई प्राथमिकताका साथ उजागर गर्दै कानुनी जागरण ल्याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो।