• १४ माघ २०८१, सोमबार

‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’

blog

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सम्बोधन गर्नुहुँदै महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १२ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्छ ।  ती दलले शासन गर्नु नै प्राकृतिक हुन्छ उहाँले भन्नुभयो, “जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक हुन्छ । यो सरकार नै जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक छ ।”  

कांग्रेस–एमाले सधैँभरिका लागि नमिलेको पनि उहाँले स्पष्ट पार्नुभयो । जनताको बिचमा जाने बेलामा नेकपा (एमाले) र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उहाँले प्रष्ट पार्नुभयो । देश बनाउन धेरै राजनीतिक दल होइन, ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले बताउनुभयो । ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले स्पष्ट पार्नुभयो । 

एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश बन्दैन, त्यो मुलुकको नीति बन्नुपर्छ उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरकार भएको पोखरेलले बताउनुभयो । नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने उहाँले बताउनुभयो । 

नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको पोखरेलले स्पष्ट पार्नुभयो ।  ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ’ उहाँले भन्नुभयो । देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । त्यो क्षमता एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उहाँले स्पष्ट पार्नुभयो ।  ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने अभियान चलाउन चाहन्छौँ’ उहाँले भन्नुभयो । 

आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओलीमाथि चौतर्फी हमला भइरहेको उहाँले बताउनुभयो । त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन उहाँले आग्रह गर्नुभयो । देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । 


एमाले र केपी ओलीमाथि नराम्रो काम गरेको कारण हमला नभएको उहाँले बताउनुभयो । नेपाललाई असफल गराउन चाहनेहरूले एमाले र केपी ओली माथि हमला गरिरहेको पोखरेलले बताउनुभयो । 

उहाँले जहाँ सङ्कट हुन्छ, त्यहाँ समाधान हुने बताउनुभयो । नेपाललाई हामी आफैँले बनाउने भावनाका साथ युवा जाग्नु पर्ने र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । समाजलाई अघि बढाउन समाजमा आशा जगाउनु पर्ने बताउँदै उहाँले एमाले अध्यक्ष ओली आशाको संवाहक भएको बताउनुभयो । उहाँले देखेका सपना आज व्यवहारमा बदलिँदै गएको पनि महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।